Logo

बालिका बलात्कार मुद्दामा हदम्याद बढाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छः डा. डिला संग्रौला



काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बालिका बलात्कार मुद्दामा हदम्याद बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. संग्रौलाले भनिन्, “नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्यहरुले हिजो सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा समक्ष देशभरि भइरहेका लैंगिक हिंसा, बलात्कारका सम्बन्धमा कानुनी जटिलता लगायत विभिन्न विषयमा हिजो ज्ञापनपत्र बुझाएका छौं । बालिका बलात्कार मुद्दामा हदम्यादको पुनरावलोकन निम्ति प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”
साथै उनले प्रधानमन्त्री देउवालाई १० लाख जनतालाई आमाको नामबाट नागरिकता दिलाउन पनि ध्यानाकर्षण गराएको बताइन् । डा. संग्रौलाले भनिन्, “महिलाको मुद्दामा सत्तापक्ष वा प्रतिपक्ष भन्नु हुँदैन । महिलाले न्याय पाउन अब कहाँ जाने ? अहिलेको कानुन बाधक छ भने त्यसलाई संशोधन गर्नुको विकल्प छैन । आमाको नामबाट नागरिकता प्राप्त गर्न नसक्दा १० लाख नागरिकताविहीन छन् । महँगीका कारण गृहिणी पीडित छन् । यसबारे पनि आगामी बजेटमा स्पष्ट खाका ल्याउनुपर्छ भनेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं ।”
देशभरि स्वतन्त्र उम्मेदवारहरुको विजय समीक्षाको विषय भएको पनि कांग्रेस नेतृ डा. संग्रौलाले औंल्याइन् । उनले भनिन्, “स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो दल भएको छ । कतिपय पालिकामा महिला कमान्डर आएका छन् । देशभरि स्वतन्त्र उम्मेदवारको विजय राजनीतिक दलहरु परम्परागत बाटोमा हिँड्न हुँदैन भनेर जनताले सचेत गराएको अवस्था हो । अबका दिनमा टिकट वितरणमा सही छनोट, निर्वाचन परिचालनमा पुनरावलोकन गर्नुपर्छ ।”
साथै डा. संग्रौलाले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै गठबन्धनलाई निरन्तरता दिने पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस्