Logo

ओली–यादव भेटघाटः सत्ता गठबन्धन फुटाउने एमाले दाउ



काठमाडौं, जेठ १२ । स्थानीय तहको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दल एमाले पाँचदलीय सत्ता गठबन्धन फुटाउने खेलमा लागेको छ।

निर्वाचनमा एकअर्काप्रति भएको असहयोगलगायत विषयलाई लिएर सत्तारूढ दलहरूमा असन्तुष्टि प्रकट भइरहेका बेला एमाले यस्तो दाउमा लागेको हो। सुरुमा गठबन्धनको एक दल जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता गठबन्धनबाट अलग बनाएर सरकारलाई प्रहार गर्ने प्रयासमा एमाले छ। यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटघाटसमेत भइसकेको छ ।

जसपा नेताहरूले स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारूढ गठबन्धनकै प्रमुख घटक कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन्। जसपाले कांग्रेसबाट बढी धोका पाएको महसुस गरेका बेला बुधबार ओली र यादवबीच भेटघाट भएको हो।

कांग्रेस र माओवादी केन्द्रले धोका दिँदा जसपाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै ओलीले यादवसमक्ष सत्ताबाट अलग्गिएर एमालेसँग सहकार्यका लागि प्रस्ताव गरेका छन्। एमालेले अहिले सत्ता घटकभित्रका असन्तुष्ट पक्षसँग सहकार्य गर्ने नीति लिएको छ। यसै नीतिअन्तर्गत एमाले र जसपा अध्यक्ष यादवबीच कुराकानी अघि बढेको हो ।

जसपाले स्थानीय निर्वाचनमा जनकपुर, गोरखा मात्र होइन, विराटनगरलगायतका विभिन्न पालिकामा गठबन्धनभित्रका दलबाटै धोका पाएको छ। उसले गोरखाको पालुङटार नगरपालिकामा पनि कांगे्रसबाट धोका पाएको छ। ‘चाँडै नै सहकार्यको खाका बन्नेछ, त्यहीअनुसार दुई पार्टी अघि बढ्नेछन्। सम्भवतः जसपाले यही बजेटकै क्रममा पनि विपक्षमा मत दिन सक्नेछ। ऊ सरकारबाट बाहिरिन पनि सक्नेछ,’ ओलीनिकट एक नेताले भने। ती नेताका अनुसार दुई अध्यक्षबीच स्थानीय तहको निर्वाचन र त्यसको परिणाम तथा धोकाधडीबारे छलफल भएको थियो ।

जसपाले विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनु र आफ्नो पार्टीका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव पराजित हुनुलाई गम्भीर रूपमा लिएको छ। अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्रका छोरा हुन्।

जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई कांग्रेसबाट खुलमखुला धोका भएको बताए। ‘कांग्रेसले कारबाही गरेका व्यक्ति विजय जुलुसमा सहभागी भएका छन्। धेरै ठाउँमा धोका भएको छ। लुकीछिपी धोका भएको होइन। कांग्रेसमा अनुशासनको अभाव देखियो,’ उनले भने ।

स्थानीय तह निर्वाचनपछि एमाले अध्यक्ष ओली मौन देखिएका छन्। उनले सार्वजनिक रूपमा कुनै अभिव्यक्ति दिएका छैनन्। तर एमालेका नेताहरूले भने वाम गठबन्धनलगायत विषयमा आफ्ना धारणा दिइरहेका छन्। वाम गठबन्धन तत्काल सफल नहुने भएकाले एमाले वर्तमान सरकारलाई असफल पार्न मधेसवादी दलहरूको साथ लिएर अघि बढ्ने खेलमा लागेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्