Logo

प्रशान्त महासागरका टापु देशहरुमा अमेरिका-चीनको टकराव बढ्यो



एजेन्सी, १२ जेठ । अमेरिकासहित क्वाड राष्ट्रहरुको सम्मेलन जापानमा सकिएको छ । क्वाड देशहरुले चीनको एशिया प्रशान्त क्षेत्रमा बढ्दो प्रभावको सामना गर्ने रणनीतिक योजनाहरु ल्याइसकेका छन् । यस क्षेत्रमा ५० अर्ब डलर थप पूर्वाधार विकासमा लगानीको घोषणा गरिएको छ ।

प्रशान्त क्षेत्रमा अमेरिकाको पछिल्लो भूमिका बढ्दै जाँदा चीनले पनि सक्रियता बढाएको छ । चीनको विदेशमन्त्री वाङ इले आजबाट दक्षिण प्रशान्त क्षेत्रका देशहरुको ९ दिने भ्रमण सुरु गरेका छन् । उनी सोलोमान आइल्यान्ड, किरवाटी, समाओ, फिजी, टोङ्गा, भानुटु, पपुवा न्यूगिनी र पूर्वी टिमोर जानेछन् ।

२६ मे देखि ४ जूनसम्म चिनियाँ विदेशमन्त्री वाङ इको भ्रमण निकै लामो छ । यसले पनि चीनको प्रशान्त क्षेत्रमा चासो बढेको बुझ्न सकिन्छ । वाङले आर्थिक, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्वास्थ्य, पुलिसिङ र सुरक्षा मामलामा केन्द्रित रहेर भेटवार्ताहरु गर्ने चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनवेनले मङ्गलबार जनाइसकेका छन् ।

चीनमाथि प्रशान्त क्षेत्रमा नौसैनिक अखडा बनाउन खोजेको भन्दै अमेरिकालगायत पश्चिमा देशहरुले चासो बढाएका छन् । ती क्षेत्रहरुमा विगतमा पश्चिमाहरुको प्रभाव रहेको थियो । चीनले प्रशान्त क्षेत्रका देशहरुमा बीआरआईमार्फत् चर्को ब्याजमा ऋणमार्फत् पूर्वाधारमा लगानी गरेको विषय पनि उठिरहेको छ । ती क्षेत्रमा अमेरिका र चीनको सिधा टकराव देखिनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्