Logo

बूढीगंगा नगरपालिकामा पूनः मतदानको लागि आयोगको निर्देशन



काठमाडौं, १२ जेठ । निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान गर्न निर्देशन दिएको छ। आज (बिहीबार) बसेको आयोगको बैठकले जिल्ला निर्वाचन कार्यालय बाजुरालाई तत्कालै नयाँ मिति घोषणा गरेर निर्वाचन गर्न निर्देशन दिएको छ ।

यसअघि उक्त नगरपालिकाको निर्वाचनको सम्बन्धमा आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएअनुसार आयोगले आज यस्तो निर्णय लिएको हो ।

३० वैशाखमा निर्वाचन हुँदा एमालेले बुथ कब्जा गरेको कांग्रेस नेता, कार्यकर्ताहरूको आरोप थियो । उनीहरू फेरि मतदानको पक्षमा थिए । तर, एमाले नेता, कार्यकर्ताहरू भने बुथ कब्जा नभएको र धाँधली नभएको भन्दै मतगणनाको पक्षमा थिए ।

त्यस्तै, सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई तीन दिनभित्र हटाएर अन्य कर्मचारीलाई जिम्मेवारीमा खटाउन पनि निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडपाल, नेपाल प्रहरीका प्रहरी डिएसपी चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बल, नेपालका डिएसपी दिपक विष्टलाई हटाउन आयोगले निर्देशन दिएको हो।

बाजुरामा ९९ प्रतिशत मत खसेको भनिएकोमा यसबारेमा जिल्ला निर्वाचन आयोगलाई पनि स्पष्टीकरण सोधिएको छ ।बाजुराको बूढीगंगा नगरपालिका महान्यायाधिवक्ता खम्मबहादुर खाती र एमाले नेता कर्णबहादुर थापाको गृहपालिका हो । खातीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । उनी देउवानिकट मानिन्छन् ।

उता, थापा भने एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् । यी दुई व्यक्तित्वबीचको टकराव अहिले बाजुरामा देखिएको छ । निर्वाचन भएको दुई साता बित्न लाग्दासमेत मतपेटिका विद्यालयमै राखिएको छ । स्थानीयहरुले बालबालिकाहरुको पठनपाठन प्रभावित बनेको भन्दै तत्काल मतदान वा मतगणनाको लागि निर्णय लिईनुपर्ने माग गरेका छन् । दलहरूबीच मतगणना कि फेरि मतदानको विषयमा सहमति नहुँदा मतदान भएको दुई साता हुँदा पनि मतगणना भएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्