Logo

उपभोक्ताको ढाड सेक्दै महँगी



काठमाडौं, जेठ १३ । दैनिक प्रयोगमा आउने हरेक वस्तुको चर्को मूल्यवृद्धिले दिनदिनै उपभोक्ताको ढाड सेक्दै छ । पछिल्लो समय दाल, चामल, फलफूल, हरियो सागसब्जी, अण्डा, माछामासु, खानेतेललगायत हरेक वस्तुको मूल्य अत्यधिक बढेको छ ।

युक्रेनमाथि रूसको आक्रमण, आयात घटाउने सरकारी नीति र अन्तरराष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिजस्ता कारणले बजारमा महँगी चुलिएको जानकारहरू बताउँछन् ।

नेपाल दाल, तेल, चामल उद्योग संघका उपाध्यक्ष नरेश राठीले रूस–युक्रेन तनावका कारण ती दुई देशबाट आउने कच्चा पदार्थको आयात प्रभावित हुँदा नेपाली बजारमा खानेतेलको मूल्य आकाशिएको बताए । सरकारले पछिल्लो समय आयात निरुत्साहनको नीति लिएपछि कतिपय वस्तुको आपूर्ति घट्नाले पनि मूल्यवृद्धि भएको छ । अन्तरराष्ट्रिय बजारमा भएको इन्धनको मूल्यवृद्धिका कारण ढुवानी भाडा बढेपछि त्यसको प्रभाव हरेक किसिमका वस्तुको मूल्यमा परेको उनले जानकारी दिए ।

नेपाल खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार इन्धनको मूल्य वृद्धिसँगै पछिल्लो १ सातामा खानेतेल, दाल र चामलको समेत मूल्य बढेको छ । संघका महासचिव अमूलकाजी तुलाधरले हरेक ब्रान्डका चामलको मूल्य प्रतिबोरा १ सय ५० रुपैयाँसम्म बढेको बताए । खानेतेलको हकमा ३५ रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ ।

३ सय ७० रुपैयाँ लिटरको सनफ्लावर तेलको मूल्य ४ सय ५ रुपैयाँ पुगेको छ । ३ सय २० रुपैयाँ लिटरमा पाइने भटमास तेलको मूल्य ३५ रुपैयाँ बढेर ३ सय ५५ रुपैयाँ पुगेको छ । मसुरोको दालमा १० रुपैयाँ मूल्य बढेर किलोको १ सय ८० पुगेको छ ।

एक महीनाको अवधिमा नेपाली ठूलो गोलभेडाको मूल्य ५५ बाट बढेर ९५ रुपैयाँ पुगेको छ । सानो गोलभेडाको मूल्य ५५ रुपैयाँले बढेर १ सय ५ रुपैयाँ किलो पुगेको छ । लोकल गोलभेडाको मूल्य ३५ रुपैयाँ किलोबाट बढेर ८५ पुगेको छ । ४५ रुपैयाँ किलोको घिउसिमीको भाउ ९० रुपैयाँ पुगेको छ ।

२ सय रुपैयाँ किलोमा पाइने कागतीलाई ३ सय ७५ रुपैयाँ पर्न थालेको छ । भारतबाट गोलभेडा र कागती आयात कम भएपछि यसको मूल्य आकाशिएको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्य बताउँछन् । उनका अनुसार केही तरकारीको सिजन अफ हुने समय भएकाले पनि मूल्य बढेको हो ।

पछिल्लो १ महीनामा ब्रोइलर कुखुरा मासुको मूल्य किलोमा ३५ रुपैयाँसम्मले बढेर प्रतिकिलो ४ सय ५० रुपैयाँसम्म पुगेको छ । रहु र मुगरी माछाको मूल्य पनि किलोमा २० रुपैयाँसम्मले बढेको छ । अहिले बजारमा रहु माछा प्रतिकिलो ३ सय ३० र मगरी २ सय ९० रुपैयाँ पर्छ ।

बजार भाउ दिन प्रतिदिन आकाशिए पनि उपभोक्ताको आम्दानी बढेको छैन, जसले गर्दा सर्वसाधारणलाई दैनिक जीवनयापन गर्न निकै गाह्रो परेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्