Logo

केपी ओलीको भाषामा स्तर र मर्यादा देखिएन, संसदमा लाजै नमानी धाँधली भन्नुभयोः शंकर भण्डारी



काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा तल्लो स्तरको भाषा प्रयोग गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “प्रमुख प्रतिपक्षले सरकारको नीति तथा कार्यक्रममाथि आलोचनात्मक टिप्पणी गर्नु सामान्य हो । तर उहाँले संसदमा जुन भाषाको प्रयोग गर्नु भयो, त्यसको अर्थ र स्तर हेर्दा दुःख लागेको छ । खासगरी कूटनीतिक सन्दर्भमा बोलेका कुरा अत्यन्त स्तरहीन र मर्यादाहीन छ । मुलुकको ठूलो दलको नेता, पटक पटक प्रधानमन्त्री भएको व्यक्तिले आफ्नो स्तर र जिम्मेवारीभन्दा तलको भाषा बोल्नु दुःखद हो । यसलाई चुनावमा जनताले अवश्य मूल्यांकन गर्नेछन् ।”
उनले नेपाली कांग्रेस एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नडराएको पनि बताए । भण्डारीले भने, “हामीले नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न डराएर वा हार्छौं भनेर गठबन्धन गरेका होइनौं । कांग्रेस जिम्मेवार पार्टी हो । गठबन्धनप्रति इमानदार छौं । हामीले गठबन्धनमा मात्र होइन, एक्लै लडेको ठाउँमा पनि चुनाव जितेका छौं ।”
कांग्रेसप्रति गठबन्धन दलहरुले आशंका, अविश्वास गर्ने कुरा नभएको पनि भण्डारीको दाबी छ । उनले भने, “आदरणीय झलनाथ खनालको भाषा देख्दा मलाई आश्चर्य लाग्छ । नेकपा (एकीकृत समाजवादी) त भरखर जन्मेको पार्टी हो । तैपनि कांग्रेसले पोखरामा गठबन्धन गर्यो । उहाँहरुको मत भनेको ३ हजारदेखि ३५ सय हो । तर पनि हामीले मेयरलाई चुनाव जितायौं । उहाँले कांग्रेसको भोट जित्नुभयो, तर कांग्रेसको उपमेयर उम्मेदवारले हार्नुभयो । तैपनि कांग्रेसले कसैलाई अविश्वास वा आशंका गरेको छैन । त्यसैले हामीप्रति आशंका, अविश्वास गर्ने कुरा छैन ।”
काठमाडौंको जनमतलाई कांग्रेसले सम्मान गर्ने पनि उनले बताए । भण्डारीले थपे, “जनमतलाई झापड भन्नु उचित होइन । लोकतन्त्रमा जनताले अभिमत दिन्छन् । काठमाडौं, धरान, धनगढी, जनकपुरको मतपरिणामलाई हामीले बुझेका छौं । यो जनताको अभिमतलाई हामी हार्दिकतापूर्वक सम्मान गर्छौं । आफ्नो हारको आन्तरिक समीक्षा गर्छौं ।”
नेपाली कांग्रेसको विजयको श्रेय मतदातालाई दिने पनि उनले औंल्याए । भण्डारीले भने, “हाम्रा पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा निष्पक्ष र धाँधदलीबिना चुनाव गराउनुभयो । गठबन्धनलाई प्रभावकारी रुपमा अगाडि बढाउनुभयो । तर केपीले संसद्मा लाजै नमानी धाँधली गर्नुभयो भन्नुभयो । जहाँसम्म नेपाली कांग्रेसको विजयको श्रेय छ, त्यो आदरणीय मतदातालाई दिनुपर्छ । किनभने नेपाली कांग्रेसले सरकारमा भएर चुनाव जितेको होइन । कांग्रेसप्रति जनताको विश्वास र भरोसाका कारण जितेका हौं ।”



प्रतिक्रिया दिनुहोस्