Logo

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको आजको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिएका थिए । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिईन् ।

गठबन्धन सरकारका तर्फबाट आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, ऊर्जा लगायतका क्षेत्रको विकासलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । राष्ट्रियसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।

सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा अर्थतन्त्रमा बाह्य चाप परिरहेको सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । यसै वर्ष सङ्घीय संसद् सदस्यको निर्वाचन तथा प्रदेशसभाको निर्वाचनसमेत सम्पन्न गर्नुपर्ने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ । त्यसअघि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । सो बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सभामुख सापकोटाले अपराह्न ३ः४५ बजे नै सांसदहरुलाई बैठकस्थलमा प्रवेश गरी आसन ग्रहण गर्न आग्रह गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्