Logo

“शेरबहादुरले संसद् विघटन गर्दा प्रतिगमन नहुने, ओलीले गर्दा मात्र प्रतिगमन हुने ?”



काठमाडौं, १५ जेठ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले राजनीतिक दलहरुले कतिपय कमीकमजोरीका बाबजुद पनि मुलुकलाई गणतन्त्रसम्म ल्याइपुर्याएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेम्बाङले भने, “गणतन्त्रमा सबै कुरा ठीक छ म भन्दिनँ । तर भएका कुरालाई भएको भन्न पनि सक्नुपर्छ । कतिपय कमीकमजोरीका बाबजुद दलहरुले मुलुकलाई यहाँसम्म ल्याएका छन् । दलहरुबाट कतिपय राम्रा प्रयास पनि भएका छन् । जनतालाई राजनीतिक रुपमा अधिकार सम्पन्न बनाएका छन् । जनताको आशीर्वाद लिई संसद्मा पुगेर आफूले चाहेको काम गर्न सकिने अवस्था छ । अब परिवर्तनका लागि सशस्त्र क्रान्ति गर्नु पर्दैन । यो भनेको धेरै ठूलो उपलब्धि हो ।”
उनले केपी शर्मा ओलीलाई प्रतिगमनकारी भन्न नमिल्ने जिकिर पनि गरे । नेता नेम्बाङले भने, “राजनीतिक खपतका लागि बोल्नु एउटा कुरा हो । हो, केपी शर्मा ओलीले दुईचोटि संसद् विघटन गर्नुभयो । तर संसद्को विघटन थुप्रै प्रधानमन्त्रीहरुले गर्नुभएको छ । गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवाले पनि गर्नुभयो । कहिले विघटन सफल भयो । कहिले सर्वोच्च अदालतबाट पुनस्र्थापित भयो । आफूले गर्दा प्रतिगमन हुने, अरुले गर्दा हुने ? कस्तो मापदण्ड हो ?”
एमाले नेता नेम्बाङले पार्टी उठाएको प्रश्न जनअनुमोदित भइसकेको दाबी पनि गरे । उनले भने, “अहिले जनताको निर्णय आइसक्यो । जनताको लोकप्रिय मतमा एमाले पहिलो पार्टी भएको छ । सिटको हकमा ५ दलीय गठबन्धन पहिलो भएको छ । निषेधको राजनीतिलाई जनताले स्वीकार गर्दैनन् ।”

 



प्रतिक्रिया दिनुहोस्