Logo

‘जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध’



काठमाडौँ,१५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहहरुको संयोजनको भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेकोसमेत बताए । प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस–२०७९ विशेष समारोहलाई सम्बोधन गर्दै उनले सार्वभौम नेपाली जनताले अधिकार प्राप्त गरेको जेठ १५ एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रमको रुपमा युगौंयुगसम्म रहने उल्लेख गरे ।

उनले संविधानमा भएको व्यवस्थाबमोजिमका मौलिक हकका विषय शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी रहेको बताए ।

उनले गणतन्त्र नेपालको स्थापना नेपालीको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको तथा सबैको मेहनत, योगदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानुमा सबै प्रदेशवासीको कर्तव्य र अधिकार रहेको बताए ।

मुख्यमन्त्री केसीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लङ्गिकलगायत सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्न प्रदेश सरकार योजनागत कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए । उनले गणतन्त्रलाई जनताको जनजीविकाको उत्तम प्रणालीका रुपमा विकास गर्दै लैजानुपर्ने जनाउँदै गणतन्त्रात्मक व्यवस्था एउटा गतिशील सुशासन कायम भएको व्यवस्था भएकोले यसलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot