Logo

पाँच महिने सरकारको बजेट पाँच वर्षमा पनि पूरा नहुने खालको आयोः विशाल भट्टराई



काठमाडौं, १७ जेठ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आर्थिक वर्ष २०७९/८० का लागि संसदमा प्रस्तुत बजेट जस्ताको तस्तै कार्यान्वयनमा जान नसक्ने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “यो सरकारको आयु ५ महिनाभन्दा बढी अवधि छैन । मंसिरदेखि फागुनको बीचमा हामी निर्वाचन गर्दैछौं । तर यो बजेट चाहिँ ५ वर्षमा पनि पूरा नहुने खालको छ । अर्थतन्त्र जर्जर छ । आर्थिक सूचकांक नकारात्मक छन् । आश्वासनको पुलिन्दा बाँडिएको छ । यो बजेट जस्ताको तस्तै कार्यान्वयनमा जाँदै जाँदैन ।”
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दर्ता भएको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गराउने तत्परता नदेखाएको आरोप पनि भट्टराईले लगाए । उनले भने, “पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नेबित्तिकै महँगी चुलिएको छ । सरकारले १५ दिनमा एक पटक पुनरावलोकन गर्ने मिल्ने इन्धनको मूल्य १० दिनमै दुई पटक गरेर १० रुपियाँ बढाइदियो । प्रतिनिधिसभा र राष्ट्रिय सभामा हामीले मूल्यवृद्धिविरुद्ध जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराए पनि त्यसमा छलफल गर्न सभामुखले तत्परता देखाउनुभएको छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot