Logo

ग्रामीण सडक व्यवस्थित नहुँदा जनतालाई दुख



उदयपुर,१७ जेठ। जिल्लाको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि कालोपत्रे, ग्राभेल र व्यवस्थित हुन नसक्दा वर्षायाम सुरु भएसँगै स्थानीयवासीले समस्या भोग्दै आएका छन् । जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, बराह, ताम्लिछा, बासबोटे, माझखर्क तथा जाते जोड्ने ग्रामीण सडकहरु अहिलेसम्म पनि व्यवस्थित हुन नसक्दा पानी पर्नासाथ सडक हिलाम्मे हुने र भत्कने र खाल्डाखुल्डी पर्दा यस क्षेत्रमा सवारीसाधन सञ्चालनमा पनि समस्या हुने गरेको स्थानीय वासिन्दा तथा यातायात ब्याबसायीहरुको गुनासो छ ।
जिल्लाको रौतामाई गाउँपालिकाको भुटार, रौता, मुर्कुची, डिल्लीबर पुवाँरे डुम्रीखर्क, नामन्त तथा उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा, तावाश्री र बर्रेखण्डका कच्ची सडक र ताप्ली गाउँपालिकाको पिपलभन्ज्याङ, रुपाटार, ठानागाउ,ँ नुनथला, राउतखर्क सडकखण्डमा अहिले वर्षायाम सुरु हुनासाथ यातायातका साधनहरु सञ्चालनमा अबरोध हुँदै आएको छ । लामो समयदेखि निर्माण भएका कच्ची सडकहरु व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या हुँदा ग्रामीण भेगका जनताले दुखकष्ट भोग्दै आएकोे ताप्ली–३स्थित पिपल भन्ज्याङका दीप हमाल बताउछन् ।
जिल्लाको सदरमुकाम गाईघाट हुँदै रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर भएर माझखर्क हुँदै लिमचुङबुङ गाउँपालिका जोड्ने ग्रामीण सडकहरु वर्षायाम सुरुभएसँगै भत्किने भएकाले अहिलेदेखि सवारीसाधन सञ्चालन गर्न कठिन हुन थालेको मुर्कुचीका यातायात ब्याबसायी होम बहादुर मगर बताउछन् ।
उनी भन्छन्, “मुर्कुची, डिल्लीबर माझखर्क लिम्चुङबुङ जोड्ने ग्रामीण सडकखण्डहरु आजभन्दा दश वर्ष अघि नै निर्माण भएका हुन्, हिउँदमा सवारीसाधन सञ्चालन गर्न केही सहज भएपनि वर्षा लाग्नासाथ सवारीसाधन सञ्चालन गर्न ज्यानको बाजी लगाउनुपर्छ ।”
अहिलेदेखि दिनदिनै वर्षा हुन थालेका कारण यी क्षेत्रका सडकहरु भत्किन र खाल्डा पर्न थालेपछी समान ढुवानी गर्न कठिनाइ हुन थालेको यातायात व्यवसायीहरुको गुनासो छ ।
जिल्लाको पहाडी क्षेत्रका अधिकांस सडकखण्ड व्यावस्थित हुन नसक्दा वर्षा लाग्नासाथ गाउँलेहरुलाई अन्यत्र आवतजावत गर्न र समान ढुवानी गर्न सकस हुँदै आएको र यसवर्ष पनि सडक व्यवस्थित नहुँदा वर्षा लागेसँगै आफूहरुले कठिनाइ भोग्दै आएको रौतामाई इनामेका पासाङ शेर्पा बताउछन् ।
वर्षायामको जेठदेखि कार्तिक महिनासम्म झण्डै छ महिना जिल्लाको माथिल्लो पहाडी भेगका हामी जनताहरुले अव्यवस्थित सडकका कारण कष्टकर जीवन बिताउँदै आएको लिम्चुङबुङ गाउँपालिका माझखर्क सातदोबाटेका फुर्बा शेर्पा सुनाउछन् ।
वर्षा लाग्नासाथ पैदल हिडेर अन्यत्र जानुपर्ने, समान ढुवानी गर्दा पनि हिँडेरै जानुपर्ने बाध्यता आफूहरुले वर्षेनि भोग्दै आएको सातदोबाटेका दुर्गा राई बताउछन् ।
उनका अनुसार जबसम्म यस क्षेत्रका सडकहरु व्यवस्थित हुँदैनन्, तबसम्म आफूहरुले यसरी नै कष्टकर जीवन बाच्न बाध्य हुँदै आएका छौँ ।
माझखर्कका फुर्बादोर्जी शेर्पाका अनुसार वर्षा लाग्नासाथ कहिलेकाँही गाउँमा कोही बिरामी भइहाले जिल्ला अस्पताल गाईघाटसम्म पु¥याउन दुईदिनसम्म लाग्ने गरेको छ ।
आजभन्दा दश पन्ध्र वर्ष अगाडि स्काभेटेर र डोजरले निर्माण गरेका जिल्लाको पहाडी भेगको अधिकांश कच्ची सडकहरु वर्षायाममो भत्काउने खाल्डा बनाउने र पहिरोले पुर्ने भएकाले आवतजावत गर्न कठिन हुँदै आएको छ ।
यस विषयमा भर्खरै निबार्चित लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई भन्छन् “यस पालिकाकामा सडक र बिजुलीको व्यवस्थापन नै मुख्य समस्या भएको छ, यसपालीको र अर्को वर्षको बजेटबाट लिम्चुङबुङ गाउँपालिकाका अधिकांश ग्रामिण सडक व्यवस्थित गरेरै छाड्ने अठोट लिएका छौँ ।”

यसैगरी रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर पनि आफूहरुको पहिलो प्राथमिकता ग्रामीण सडक व्यवस्थापन नै हुने बताउछन् । रौता, मुर्कुची र पुवारे सडक तथा भुटार र रौताका ग्रामीण सडकहरुमा यसै पटकको बजेटबाट नै ग्राभेलिङ र नाला निर्माणको कामलाई पहिलो प्राथमिकता दिने उनको भनाइ छ । यस्तै उदयपुरगढी गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष मानबहादुर मगर र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङगराज बिकले पनि यसै आर्थिक वर्षको बजेटबाट नै ग्रामीण सडक व्यावस्थापनलाई प्रमुख प्रथमिकता दिने बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्