Logo

बजेट वितरणमुखी र कार्यकर्ता रिझाउने : अनिलकुमार झा



काठमाडौं, १७ जेठ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट वितरणमुखी र आगामी निर्वाचनमा कार्यकर्ता रिझाउने गरी ल्याइएको टिप्पणी गरे ।

‘बजेट वितरणमुखी छ । ६ महिनापछि हुने चुनावमा दुई चार लाख कार्यकर्ता रिझाउने गरी ल्याइएको छ,’ उनले भने । बजेटमा चुरे संरक्षण गर्न कुनै कार्यक्रम नरहेको बताउँदै उनले तराईमा आरसनिकरहित स्वच्छ पानी खुवाउने विषयमा नसमेटिएको बताए ।

तराई क्षेत्रमा सिँचाइ गर्न ठोस कार्यक्रम पनि बजेटमा नरहेको उनको भनाइ छ । शिक्षा र स्वास्थ्यका लागि स्थानीय तहका छुट्याइएको बजेटले भौतिक पूर्वाधारका लागि पर्याप्त नहुने दाबी गर्दै झाले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाने वातावरण बनाउन सक्ने कार्यक्रम पनि नरहेको जिकीर गरे ।

‘जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाँदैनन्,’ उनले भने, करोडौँ खर्र्चेर पढेका चिकित्सक जिल्ला अस्पताल जाने वातावरण बनाउन सकेको छैन ।’ १५ प्रतिशत तलब वृद्धिले महंंगीअनुसार तल्ला कर्मचारीलाई राहत दिन नसक्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot