Logo

उडान अनुमतिमा कडाइ



काठमाडौं, जेठ १९ । मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो ।

मौसमकै कारण जेठ १५ गते तारा एयरको जहाज दुर्घटनामा परेपछि पुनः त्यस्ता घटना दोहोरिन नदिन प्राधिकरणले यो व्यवस्था गरेको हो । वायु सेवाहरूले बुधबार विमानस्थलस्थित मौसम तथा हवाई मौसम पूर्वानुमान शाखाले उपलब्ध गराएको मौसमसम्बन्धी प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गरे । प्राधिकरणका अनुसार २१ वटा विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हवाई पूर्वानुमान शाखाबाट रिपोर्ट लिएर उडान भरेका हुन् ।

ती क्षेत्रमा उडान भर्दा बाटोको मौसमसहित उडान सुरु भएदेखि अवतरण हुने स्थानसम्मको मौसम सफा भएपछि मात्रै उडान अनुमति पाइनेछ । प्रविधि जडान भएको विमान र विमानस्थलबाट भने इनरुट मौसम सफा नभए पनि उडान अनुमति पाउनेछ । नयाँ व्यवस्थाअघि विमान उड्ने र अवतरण हुने विमानस्थलको मौसमका आधारमा उडान हुँदै आएको थियो ।

उडान सुरक्षालाई ध्यानमा राख्दै कडिकडाउ गरिएसँगै प्राधिकरणले मौसम पूर्वानुमान शाखालाई हवाई कम्पनीले मागेकै समयमा मौसमसम्बन्धी जानकारी उपलब्ध गराउन मौखिक निर्देशन दिएको छ । प्राधिकरणको पछिल्लो निर्देशनअनुसार बुधबार काठमाडौँबाट लुक्ला, सुर्खेत, ताप्लेजुङ, मनाङ, पोखरा, तुम्लिङटारका लागि उडान भरेका तारा एयर, समिट एयर, मनाङ एयर, प्रभु हेलिकप्टर, एभरेस्ट हेलिकप्टर, कैलाश हेलिकप्टर, श्री एयरलाइन्स, अल्टिच्युड एयरलाइन्स, फिस्टेल एयर, सिम्रिक, बुद्ध एयर, यती एयरलाइन्स, गुण एयरलाइन्स र नेपाल वायुसेवा निगमले उडानपूर्व इनरुटसहितको मौसमी जानकारी लिएर उडान भरेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । निजी हवाई सेवा कम्पनीहरूले पछिल्लो निर्णय दुर्घटना न्यूनीकरणका लागि अति आवश्यक र अपरिहार्य रहेको जनाउँदै नियम कडाइसाथ लागू गर्नुपर्नेमा जोड दिएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्