Logo

आइजीपी सिंहले एआइजीद्वय थापा र धानुकलाई दायाँबायाँ राखेर के के भने



काठमाडौं, १९ जेठ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट गरे । कार्यभार सम्हालेको एक महिना भएपछि उनले पत्रकार सम्मेलनमा एआइजीद्वय सहकुल थापा र रवीन्द्र धानुकलाई दायाँबायाँ राखेका थिए । एआइजी बढुवाको सिफारिश भएका उत्तम सुवेदी पनि छेवैमा थिए ।

आइजीपी सिंहले सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताको चर्चा गरे ।स्थानीय तहको निर्वाचनमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने बताए ।

आइजीपी सिंहले संगठनमा नेतृत्व परिवर्तन पछिको अवस्थाबारे भने, “संगठन प्रमुख फेरिदैमा संगठनको प्राथमिकता फेरिदैन । शान्ति सुरक्षा कायम राख्नुका साथै बस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको संरक्षण, जघन्य अपराधको अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु ।” संगठित अपराध अनुसन्धान एवम् नियन्त्रणमा मानवअधिकारको संरक्षण गर्दै प्रहरी संगठन अझ आक्रामक रूपमा प्रस्तुत हुने बताए । प्रहरीप्रतिको भरोसा कायम राख्न हालै गरिएका केही सुधारात्मक कार्यहरूबाट सुधारको संकेत देखापरेको र आगामी दिनमा प्रहरीले गरेका कामबाटै उपलब्धी प्रस्ट देखिने बताए ।

प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा कार्यसम्पादन मूल्याङ्कन लगायत संगठनको प्रणाली अनुरूप निष्पक्ष रूपमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले यूएन मिसनमा प्रहरी कर्मचारीहरूको सहभागिताको लागि पहल गर्न समिति समेत गठन गरी प्रकृया अगाडि बढाइएको उल्लेख गरे । स्थानीय तहको निर्वाचनमा सञ्चारकर्मीहरूबाट भएको सकारात्मक भूमिका निर्वाहप्रति आभार व्यक्त गर्दै प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको चर्चा गरे ।
सिंहले हल हुन नसकेका अपराध अनुसन्धानलाई पनि आफ्नो कार्यकालमा हल गर्न भरमग्दूर प्रयास गरिने बताए । निर्मला पन्तको हत्याका दोषी पत्ता लगाउन प्रयास हुने बताए ।-Photo Source: Mukunda Kalikote/Reportesnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot