Logo

मौसमको जानकारी नहुँदा उडान प्रभावित



काठमाडौं, जेठ २० । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ ।

मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।

भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न पाएनन् ।

प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्व र समिटको एउटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । उड्न नपाउँदा यात्रु दिनभरिको प्रतीक्षापछि घर फर्किनुपरेको छ ।

विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले प्राधिकरणले निर्णय गरे पनि मौसम पूर्वानुमान महाशाखासँग कुनै समन्वय नहुँदा पहाडी र हिमाली क्षेत्रमा हुने आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको बताए ।

उनले समन्वयकै अभावले बिहीबार तारा एयरको काठमाडौंबाट लुक्ला विमानस्थलका लागि तय भएका पाँचवटा र नेपालगञ्जबाट जुफाल, सिमकोट, कोल्टी, जुम्ला र ताल्चा विमानस्थलका लागि तय भएका उडान रद्द भएको बताए ।

मौसमसम्बन्धी समन्वयकै अभावले तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि बन्द गरिएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जेठभित्रै नेपालमा मनसुन सक्रिय हुनसक्ने देखिएकाले थप उडान प्रभावित हुने चिन्ता व्यक्त गरे।

विमानस्थलको टावरले मौसम तथा हवाई मौसम शाखाले मौसम सफा भएको पुष्टि नगरेसम्म उडान अनुमति नदिने र यात्रुले समयमै किन जानकारी नगराएको भन्ने जवाफ खोज्दा एयरलाइन्सहरू थप समस्यामा पर्न थालेको उनको भनाई छ ।

नेपाल वायु सेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने निर्णयको कार्यान्वयन सम्भव नरहेको बताएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको जनाउँदै सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको छ ।

हेलिकप्टरमा दुई जना पाइलट राख्नेबारे प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्