Logo

३९ मेगावाट बिजुली भारततर्फ निर्यात



काठमाडौं, जेठ २० । नेपाल विद्युत् प्राधिकरणले वर्षायाम सुरुभएसँगै भारतमा ३९ मेगावाट बिजुली निर्यात गर्न थालेको छ। प्राधिकरणले नेपालमा उत्पादन भएको बिजुली बढी भएर बुधबारमध्यरातिदेखि भारत निर्यात गर्न सुरुवात गरेको हो। प्राधिकरणले नेपालमा खपत नभएर बढी भएको ३९ मेगावाट बिजुली निर्यात गरेको हो।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बुधबार मध्यरातदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न थालेको बताए। ‘प्राधिकरणले बुधबार मध्यरातदेखि भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार आईईएब्समा प्रत्येक १५ मिनेटको ब्लकमा बिजुली बिक्रीको लागी राखेको हो,’ उनले भने‘ हामीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली भारत पठाउँदै आइरहेका छौं ।’ अहिले प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीले साढे १३ सय देखि १४ सय मेगावाट बिजुली उत्पादन गर्दै आइरहेका छन्। प्राधिकरणले २४ औंघण्टा बिजुली बिक्री गर्दै आइरहेको छ।

प्रवक्ता भट्टराईले प्राधिकरणले भारतमा बिजुली निर्यात गर्दा प्रति युनिट भारु ६.२८ रूपैयाँमा बिजुली बिक्री गर्दै आइरहेको छ। प्राधिकरणले कुनै समय अधिकत्तम भारु १२ रूपैयाँ पनि पाउँदै आइराखेको छ। नेपालले ३६४ मेगावाट बिजुली भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बेच्न स्वीकृति पाइसकेको छ।

प्राधिकरणले गत कात्तिक १५ गते भारतीय ऊर्जा बजारमा वर्षायाममा देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको थियो। त्यस्तै गत चैत २३ गते प्राधिकरणले भारतलाई थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्ने अनुमाति पाएको थियो।

प्राधिकरणका अनुसार बर्खामा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाकोे ५२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्