Logo

२४ घण्टा नबित्दै फेरि त्रिविमा तालाबन्दी



काठमाडौं, जेठ २० । त्रिभुवन विश्वविद्यालयमा ताला फोडेको २४ घण्टा बित्न नपाउँदै बिहीबार बिहान नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले फेरि तालाबन्दी गरेको छ । कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षको ताला फोडेको २४ घण्टाभित्रै नेविसंघले तालाबन्दी गरेको हो ।

नेविसंघले पदाधिकारीको बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो । तर, बुधबार नेकपा क्रान्तिकारीले पार्टीको मध्य केन्द्रीय कमान्डका इन्चार्ज सफलद्वारा हस्ताक्षरित विज्ञप्ति टाँसेर ताला फोडेका थिए ।

ताला फोडेपछि जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ‘ब्याचलर अफ कम्प्युटर एप्लिकेसन’ कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पुनः पदाधिकारीको कार्यालयको मूलगेटमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी गर्दा प्रहरी मूकदर्शक बनेको त्रिवि प्रशासनको आरोप छ । पदाधिकारीको कार्यकक्षमा ताला खोलिसकेको अवस्थामा पुनः तालाबन्दी गर्न आउनेलाई रोक्न नसक्नु प्रहरीको कमजोरी हो । नेविसंघले नक्कली लेटर प्याड बनाएर अमुक पार्टीको नाममा त्रिवि पदाधिकारीले नक्कली विज्ञप्ति टाँसेर तालाबन्दी गरेको आरोप लगाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्