Logo

विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प, ताला लगाउने र फोड्नेबीच होडबाजी



काठमाडौ, जेठ २० । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् ।

विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ । आफूहरूले लगाएको ताला फुटाएर क्रान्तिकारीले मुठभेड गर्न खोजेको आन्दोलनकारीले आरोप लगाएका छन् ।

नेविसङ्घले गत माघ ६ गतेदेखि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेको थियो । जनकपुरस्थित युथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनका लागि आफैँले दिएको सम्बन्धन आर्थिक लेनदेन नमिल्दा विश्वविद्यालयले खारेज गरिदिएको आरोप लगाउँदै उक्त सम्बन्धन यथावत् राख्नुपर्ने माग नेविसङ्घको छ ।

तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक गतिविधि ठप्प छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot