Logo

गठबन्धनमा सँगै रहने, धोका पनि दिने काम भयोः जसपा नेता



काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले गठबन्धन दलहरु इमानदार नदेखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “स्थानीय तहको निर्वाचनले हामीलाई ठूलो सबक दिएको छ । गठबन्धनभित्रका दलहरु इमानदार देखिएनन् । त्यसैले एकअर्काबीच अविश्वासको वातावरण छ । हामीले जहाँ जहाँ गठबन्धन भयो, त्यहाँ त्यहाँ इमानदारीपूर्वक साथ दियौं । तर जसपाको हकमा त्यो प्राप्त हुन सकेन । यो गठबन्धन त अमूक दलको फाइदा पुग्ने गरी मात्र बनेको देखियो ।”
पार्टी बैठकमा गठबन्धनका बारेमा निर्मम समीक्षा गरिने पनि उनले बताए । यादवले थपे, “केन्द्रीय कार्यकारिणी समिति वा केन्द्रीय समिति बसेर यसबारे निर्मम समीक्षा हुन्छ । समस्या गठबन्धनभित्र पनि छ, पार्टीभित्र पनि छ । गठबन्धनमा सँगै रहने अनि धोका पनि दिने भयो । समझदारीको व्यवहार र परिणाममा तालमेल देखिएन ।”
उनले अहिलेको स्थितिमा वाम वा लोकतान्त्रिक गठबन्धन शब्दाडम्बर मात्र भएको टिप्पणी गरे । साथै यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भारतको इसारामा रोकिएको भन्नु वाहियात भएको बताए । उनले भने, “कतै खडेरी र कतै झरी पर्यो भने पनि फलानाका कारण भनिदिने चलन छ । विकासका हरेक सवालमा अदालतले टिप्पणी गर्न थाल्यो भने उसको आफ्नै गरिमामा प्रश्न उठ्छ । मेरो धारणा के छ भने विमानस्थल बनाउनुपर्छ । विकास गर्नुपर्छ, वातावरणीय क्षति कम गरेर मुलुकको आवश्यकता पूरा गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्