Logo

“आफूले जितेको ठाउँमा धोका नहुने, हारेको ठाउँमा मात्र धोका हुने ?”



काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका नेता राजन केसीले वाम गठबन्धन बने पनि आफ्नो पार्टी एक्लै चुनावमा जान तयार भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हिजो पनि वाम गठबन्धन भएकै हो । दुई तिहाइ ल्याएकै हो । पार्टी एकता पनि भएकै हो । त्यसैले वाम गठबन्धनसँग कांग्रेस डराएको छैन । गठबन्धन भए गठबन्धनसँगै जान्छौं, त्यो नभएको स्थितिमा एक्लै जान पनि तयार छौं ।”
गठबन्धन राष्ट्रिय आवश्यकता भएको उनको टिप्पणी छ । केसीले भने, “संविधानमा मिश्रित निर्वाचन प्रणाली छ । प्रतिनिधिसभाको २७५ सिटमध्ये प्रत्यक्षमा १६५ र समानुपातिकमा ११० सिट भएकाले कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने स्थिति छैन । त्यसैले आज चुनावमा एक्लै जाँदा पनि भोलि सरकार बनाउँदा गठबन्धन गर्नैपर्छ । गठबन्धन चुनाव अघि गर्ने कि चुनाव पछि गर्ने भन्ने मात्र हो । त्यसैले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो।”
गठबन्धनमा रहेका दलहरुले हारेको ठाउँमा धोका भन्न नमिल्ने केसीको दाबी छ । उनले भने, “पोखरा र हेटौंडामा माधव नेपालको पार्टीले जितेको होइन ? वीरगन्जमा जसपाले जितेको होइन ? भरतपुरमा माओवादी केन्द्रले जितेको होइन । आफूले जितेको ठाउँमा धोका नहुने, हारेको ठाउँमा मात्र धोका हुने ? ७५३ पालिकामध्ये आधाभन्दा धेरै ठाउँमा हामीले पनि हारेका छौं । हार्दैमा धोका भएको भन्दै हिँडेका छैनौं ।”
संसदको सार्वजनिक लेखा समिति नेकपा एमालेलाई दिन कांग्रेस तयार रहेको पनि केसीले बताए । उनले भने, “प्रतिनिधिसभामा नेपाली कांग्रेससँग जम्मा एउटा समितिको नेतृत्व छ । त्यो पनि प्रतिपक्षको हैसियतले पाएको हो । एमालेले झन्डै एक वर्ष संसद् चल्न दिएन । संसद् नचलीकन हामीले एमालेलाई कसरी लेखा समिति सुम्पने ? टीका लगाएर दिने त होइन होला । प्रक्रियामा जानुपर्यो नि ।”



प्रतिक्रिया दिनुहोस्