Logo

माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको कुरा हजार प्रतिशत झुट होः विष्णु रिजाल



काठमाडौं, २२ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीको प्रस्ताव नगरेको दाबी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै रिजालले भने, “केपी शर्मा ओलीले दूत पठाएर माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्रीको अफर गरेको भन्नु मनको लड्डु घिउसँग खाएको मात्र हो । माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको कुरा हजार प्रतिशत झुट हो । यो मनगणन्ते, मिथ्या र काल्पनिक कुरा हो । उहाँहरुलाई यस्तो अफर आइदिए हुन्थ्यो भन्ने होला । अफर आए त चार हात -खुट्टा टेकेर हाम फालिहाल्नुहुन्छ नि ।”
उनले अहिलेको अवस्थामा एकीकृत समाजवादी र माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नभएको पनि औंल्याए । रिजालले भने, “उहाँहरुले दक्षिणपन्थी, पुँजीवादी र प्रतिक्रियावादी पार्टी नेपाली कांग्रेसलाई नेता मान्नुभएको छ । शेरबहादुर देउवालाई अभिभावक बनाउनुभएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा बस्नुभएको छ । कांग्रेसको विजयमा उत्सव मनाइरहनुभएको छ । उहाँहरु वामपन्थी हो कि होइन भन्ने प्रश्न उठेको छ । सैद्धान्तिक रुपमा भन्ने हो भने हामी वामपन्थी एकताको विरोधी होइनौं, भूलभूलैयामा लागेका नेताहरुलाई हार्दिक स्वागतै छ । तर त्यसका निम्ति कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धनबाट बाहिर आउनुपर्यो, पार्टी विभाजनप्रति पश्चात्ताप गर्नुपर्यो । अहिलेको अस्थामा माओवादी र समाजवादीसँग सहकार्य, तालमेल र एकता सम्भव छैन ।”
नेकपा एमालेमा आन्तरिक अनुशासनमा समस्या रहेको पनि रिजालले औंल्याए । उनले भने, “हिजो कांग्रेसमा अन्तर्घातका समस्या देखिन्थे । अहिले हाम्रो पार्टीमा पनि समस्या देखिएका छन् । स्थानीय तह निर्वाचमा एमालेले पहिलोचोटि अन्तर्घात बेहोर्यो । ६ वटा छाप सूर्यमा एउटा हँसिया हतौडा वा ६ वटा छाप सूर्यमा अनि एउटा रुख हालेको देखियो । पार्टीको हित विपरीत काम गर्नेलाई पार्टीले कारबाही गर्छ । अनुशासन उल्लंघनको छुट कसैलाई छैन । केपी ओलीको नेतृत्वलाई कमजोर बनाएर कसलाई फाइदा हुन्छ र ?”

 



प्रतिक्रिया दिनुहोस्