Logo

भित्रियो मनसुन, औसतभन्दा बढी पानी पर्ने



काठमाडौं, जेठ २३। यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो ।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । हाल यस वर्षको मनसुन प्रणाली जेठ २२ गते नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ, ‘नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’

नेपालको सन्दर्भमा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने काम मनसुनले गर्ने गरेको छ । जनताको जीविकासँग जोडिएको मनसुन यो वर्ष एक साताअघि आउँदा कृषि क्षेत्रमा ठूलो राहत पुग्ने अनुमान गरिएको छ । नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ ।

त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ । मनसुन समयमै आए बालीनाली सप्रिन्छ । खाद्यान्न उत्पादन बढ्छ । त्यसले देशको कुल गार्हस्थ उत्पादन बढाउँछ । मनसुनले बालीनालीको उत्पादकत्व मात्र बढाउँदैन, धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ । रनअफ दि रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ । बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन् । अर्थतन्त्र चलायमान हुन्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्