Logo

रोनाल्डो चम्किदा पोर्चुगलको शानदार जीत



एजेन्सी । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै एक एसिस्ट दिएपछि पोर्चुगलले युईएफए नेसन्स लिग ए मा शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा पोर्चुगलले स्विट्जरल्याण्डलाई ४-० गोलले पराजित गरेको हो । इस्टाडियो जोसे अल्भालडेमा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन रोनाल्डोले दुई गोल गर्दा विलियम कार्भाल्हो र जोए कान्सेलोले एक/एक गोल गरे ।

पहिलो हाफको १५ औं मिनेटमा रोनाल्डोको पासमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा जोटाको पासमा रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । यसअघि छैटौं मिनेटमा हरिस सेफेरोभिकले गरेको गोल भिएआरले फावल घोषित गर्दा स्विट्जरल्याण्डले खेलमा अग्रता लिने मौका गुमाएको थियो । ३९ औं मिनेटमा जोटाकै पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए ।

६८ औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा कान्सेलोले गोल गर्दा पोर्चुगल खेलमा ४-० गोलले अगाडि बढेको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल ४-० गोलले विजयी भएको हो । जीतसँगै पोर्चुगल २ खेलबाट ४ अङ्क जोड्दै समूह २ को शिर्ष स्थानमा उक्लिएको छ ।

पराजित स्विट्जरल्याण्ड समान खेलबाट अङ्कविहिन रहँदै पुछारमा छ । यस्तै गएरातिनै भएको समूहको अर्को खेलमा स्पेन र चेक रिपब्लिकले २-२ गोलको बराबरी खेल्दै अङ्क बाढेका हुन् । खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा रिपब्लिक बराबरीमा रोकिन बाध्य भएको हो । बराबरीसँगै रिपब्लिक २ खेलबाट ४ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ भने एक अङ्क जोडेको स्पेन तेस्रो स्थानमा यथावत छ ।



प्रतिक्रिया दिनुहोस्