Logo

जसपामा पनि मन्त्री फेर्न दबाब



काठमाडौं, जेठ २३ । नेपाल (एकीकृत समाजवादी) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ।

सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न २०७८ असोज १८ मा बोलाइएको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले ६ महिनापछि नयाँ टिम पठाउने आश्वासन दिएका थिए। असन्तुष्ट नेताहरूले त्यस भनाइलाई उचालेर नयाँ टिम पठाउन पार्टी अध्यक्षको ध्यानाकर्षण गराएका छन्।

उनीहरूको दाबी छ, यादवको उक्त प्रस्तावमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पनि सहमति जनाएका थिए। भट्टराई र यादवको मौखिक प्रतिबद्धतापछि कार्यकारिणी समितिको बैठकले सरकारमा पठाउने व्यक्तिबारे निर्णय गर्ने जिम्मा भट्टराई, यादव र अशोक राईलाई दिएको असन्तुष्ट पक्षधरको भनाइ छ।

कार्यकारिणी समितिकी सदस्य तथा सांसद अमृता अग्रहरीले अध्यक्ष यादवले पार्टी सरकारमा गएको ६ महिना पुग्नेबित्तिकै पुरानो टिमलाई फिर्ता बोलाएर नयाँ टिम पठाउने प्रतिबद्धता प्रस्टसँग गरेको बताइन्। उक्त प्रतिबद्धता चाँडै कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ।

‘नेकपा ९एस० ले पनि टिम फेर्‍यो। अब हामीले पनि चाँडै टिम फेर्नुपर्छ,’ उनले भनिन्। पार्टीको कार्यकारिणी समितिको बैठक पनि तत्काल बोलाउन पनि उनले माग गरिन्। ‘बैठक बोलाइयो भने यो विषयमा कुरा उठ्छ,’ उनले भनिन्। आठ महिनासम्म्म पनि कार्यकारिणी समितिको बैठक नबोलाइएकोमा उनले आक्रोश पोखिन्। ‘कार्यान्वयन नगर्ने भए किन प्रतिबद्धता गरेको हो रु’ अग्रहरीले भनिन्, ‘सबै सत्यमा अडिनुपर्छ।’

कार्यकारिणी समितिका अर्का सदस्य तथा राष्ट्रिय सभाका सांसद मृगेन्द्रसिह यादवले पनि सरकारमा गएको ६ महिनापछि पुरानो टिम फेर्ने र नयाँ टिम पठाउने मौखिक सहमति पार्टीको बैठकमा गरिएको बताए। यादवका अनुसार बैठकमा पार्टी अध्यक्ष यादवले भनेका थिए, ‘सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो। हामीलाई थोरै कोटा छ। अहिले केही साथीलाई पठाऔं। ६ महिनापछि पुरानालाई फिर्ता बोलाएर नयाँ टिम पठाउनेछौं।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्