Logo

धाकड फ्लप भएपछि कंगनाले भनिन्–‘२०२२ अझै सकिएको छैन्’



एजेन्सी, २३ जेठ । बलिउड अभिनेत्री कंगना रनौतको ‘धाकड’ बक्स अफिसमा नराम्रोसँग पछाडी परेको छ । चलचित्रले आफ्नो लागतको १० प्रतिशत पनि उठाउन सकेको छैन् । धाकड फ्लप भएपछि कंगना सामाजिक सञ्जालमा नराम्ररी ट्रोल भइन् । तर, अहिले कंगनाले सामाजिक सञ्जालमा आफ्नो बचाउ गर्दै एउटा पोस्ट सेयर गरेकी छिन् । उनले लेखेकी छन्, २०२२ अझै सकिएको छैन ।

आफ्नो पोस्टमा कंगनाले आफूलाई बक्स अफिसको रानीको रुपमा व्याख्या गर्दै लेखेकी छिन्, ‘२०१९ मा मैले १६० करोडको सुपरहिट मणिकर्णिका दिएँ, २०२० कोविडको वर्ष थियो । २०२१ मा, मैले मेरो करियरको सबैभन्दा ठूलो हिट फिल्म थलाइवी दिएँ ।’ कंगनाले पोस्टमा थप लेखिन्, ‘मैले धेरै नकारात्मकताको सामना गर,े तर २०२२ मा लक अपको होस्टिङ ब्लकबस्टर थियो र यो वर्ष अझै सकिएको छैन। अझै धेरै आशा छ।’

आठौं दिन भारतभर धाकडको २० टिकट मात्रै बिक्री भएको थियो । यसबाट फिल्मले चार हजार ४२० रुपैयाँ कमाएको थियो । बक्स अफिसमा फिल्म फ्लप हुँदा फिल्मको ओटीटी र स्याटेलाइट अधिकार सम्झौतामा प्रत्यक्ष असर परेको छ । रिपोर्टका अनुसार फिल्म सुपर फ्लप भएपछि अब यसको ओटीटी र स्याटेलाइट राइट्स पनि बिक्री हुन सकेको छैन । किनभने, निर्माताले क्रेता पाएका छैनन् ।

‘धाकड’ बक्स अफिसमा फ्लप साबित भएको बताइन्छ र यस्तो अवस्थामा फिल्मको स्याटेलाइट र डिजिटल राइट्स बेचेर निर्माताले राम्रो आम्दानी गर्नेछन् भन्ने आशा गर्न सकिँदैन । यति मात्र होइन, फिल्मका निर्माताले ओटीटी र स्याटेलाइट अधिकारका लागि अहिलेसम्म कुनै सम्झौता गरेका छैनन् । ‘धाकड’ एउटा एडल्ट फिल्म भएको र टिभीमा देखाउनका लागि निर्माताले पुनः सर्टिफिकेट लिनुपर्ने पनि बताइएको छ, जुन निकै लामो प्रक्रिया हो । योसँगै फिल्मलाई लिएर फ्यान र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया आएको छैन ।

तर, ‘धाकड’का निर्माताले अब कम मूल्यमा अधिकार मिलाउनुपर्ने भएको छ । “धकड’ करिब १०० करोडको बजेटमा बनेको छ, निर्मातालाई घाटा अकल्पनीय हुनेछ,“ स्रोतले भन्यो। रजनीश घई निर्देशित यो एक्शन थ्रिलर फिल्म २० मे मा हलमा रिलिज भएको थियो । फिल्ममा कंगनाका अलावा अर्जुन रामपाल, दिव्या दत्त र शाश्वत चटर्जी पनि मुख्य भूमिकामा छन् । फिल्ममा कंगना एजेन्ट अग्निको भूमिकामा देखिएकी छिन् ।

कंगनाले आफ्नो आगामी राजनीतिक ड्रामा फिल्म ‘इमर्जेन्सी’ को छायांकन सुरु गरेकी छिन् । यसबाहेक उनी तेजसमा देखिनेछिन् । यससँगै उनी मणिकर्णिका रिटर्न्स र सीतामा पनि देखिनेछिन् ।



प्रतिक्रिया दिनुहोस्