Logo

तत्काल प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुलाई नियुक्त गर्नुपर्छ : वेदुराम भुषाल



काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पार्टीले सिफारिश गरेबमोजिम नयाँ मन्त्रीहरुको तत्काल सपथ हुनुपर्ने बताएका छन् । पार्टीले हिजै निर्णय गरेर मन्त्री बनाउनेहरुको नाम सिफारिश गरेको थियो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने निर्णय कार्यान्वयन गर्न आनाकानी गरेपछि अहिले एकीकृत समाजवादीको नेतृत्व उनीसँग असन्तुष्ट बनेको छ । महासचिव भुषालले पनि आफ्नो पार्टीले गरेको निर्णय यथावत रहेकोले नयाँ मन्त्रीहरुको तत्कालै शपथग्रहण हुनुपर्नेमा जोड दिए ।

रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘मन्त्री फिर्ता बोलाउने निर्णय भैसकेको छ, प्रधानमन्त्रीले हाम्रो पार्टीको सिफारिशबमोजिम नयाँ मन्त्रीहरुलाई नियुक्त गर्नुपर्छ ।’ एकीकृत समाजवादीले हिजोमात्रै चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

शहरीविकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडालाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेको थियो ।

नयाँ मन्त्रीको लागि मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिराचन्द्र केसीको नाम सिफारिश गरेको थियो । अहिले स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बनाउने उक्त पार्टीको निर्णय थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot