Logo

३ करोड ८९ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं, २४ जेठ । प्रहरीले चिनियाँ नागरिकलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ । ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई नागढुंगाबाट प्रहरीले पक्राउ गरेको हो । घटनामा एकजना नेपाली पनि पक्राउ परेका छन् ।

नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बीएबी ५७१० नम्बरको कार चेकजाँचका क्रममा उक्त रकम बरामद भएको हो । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा रकम बरामद भएको प्रहरीले जनाएको छ ।

डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखिएकोमा खानतलासी गर्दा फेला परेको बुझिएको छ । बरामद रकम सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

चिनियाँ नागरिकहरु किन नेपाल आए र उक्त रकम किन लिएर हिडिरहेका थिए भन्ने अनुसन्धान भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्