Logo

निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक



काठमाडौं, जेठ २५ । असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह खुम्चिएको छ । जेठ तेस्रो साता वाणिज्य बैंकहरूमा ७ अर्ब रुपैयाँ निक्षेप बढे पनि कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले घटेको छ ।

स्थानीय चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप जेठ लागेसँगै बैंकमा फर्किन थालेको छ । यस कारण जेठ २० गतेसम्ममा निक्षेप २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।

जेठ पहिलो साता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएकोमा तेस्रो सातामा पनि ७ अर्ब रुपैयाँ बढेको छ । पछिल्लो साता बैंकहरूको विदेशी मुद्राको निक्षेप पनि २ अर्ब रुपैयाँले वृद्धि भएको छ ।

निक्षेप बढे पनि बैंकहरूले कर्जा प्रवाह घटाउँदै जाने रणनीति लिएका छन् । पछिल्लो समय बैंकहरूले नयाँ कर्जा प्रवाह बन्द गर्दै असुलीमा मात्र केन्द्रित भएका छन् । संघका अनुसार जेठ दोस्रो साताको तुलनामा तेस्रो सातामा बैंकहरूको कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको छ ।

तरलता अभावसँगै बैंकहरूको सीडी रेसियो राष्ट्र बैंकले तोकेको भन्दा बढी भएपछि बैंकहरूले कर्जा प्रवाह ठप्पप्रायः पारेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन असारसम्मको समयसीमा तोकेको छ ।

संघका अनुसार जेठ २० गतेसम्ममा वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव ३२ प्रतिशत छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot