Logo

नविल बैंक र महानगरबीच १३ बुंदे सम्झौता, बैंकले १८ शाखाका शौचालयलाई सार्वजनिक बनाउने



काठमाडौं, २५ जेठ । नविल बैंकले काठमाडौं महानगरपालिकासँग १३ बुंदे सम्झौता गरेको छ । सम्झौतासँगै बैंकले काठमाडौं उपत्यकाका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको हो ।

सार्वजनिक बनाइएका सबै शौचालयको सबै दायित्व बैंक स्वयम्ले बहन गर्ने जनाइएको छ । सम्झौतामा काठमाडौंमा नविल बैंकको १८ वटा शाखा कार्यालयमा रहेका चालु हालतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने र सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क नलिने तथा आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्न बैंकले प्रतिवद्धता गरेको छ ।

महानगरको पक्षबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी निर्देशक अनिल केशरी शाहले सम्झौतामा हस्ताक्षर गरेका हुन् । साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच बर्ष अवधिको लागि गरिएको हो ।

नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्घता जनाएको बताए । “नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढि रहन्छौं । नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरुप काठमाडौँको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं । ,” उनले भने ।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार चार महिनामा गर्नेछ । यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पु¥याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot