Logo

शहरी स्वास्थ्य केन्द्र विस्तार



काठमाडौँ,२५ जेठ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन रामपुर नगरपालिकाले यसको सेवा विस्तारमा जोड दिएको छ । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कामलाई अगाडि बढाएको छ ।
स्थानीय तहको निर्वाचनपछि नागरिकलाई गाउँ ठाउँमै सहज, सरल र सुलभ सेवा दिने उद्देश्यले स्वास्थ्य संस्था र सेवा विस्तार गर्दै लगिएको छ । नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा १ र २ का माथिल्लो वस्तीका स्थानीयलाई लक्षित गर्दै चण्डिहानमा स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा दिन थालेपछि ठूलो राहत मिलेको छ ।
यसअघि तीन स्वास्थ्य संस्थाबाट सेवा दिदै आएकोमा अहिले चण्डीहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी चार संस्थाबाट स्वास्थ्य सेवा दिन थालिएको हो । स्वास्थ्य चौकी गाँडाकोटका प्रमुख मजिबुर रहमान शेखले आवश्यकता अनुरुप गत वैशाख ५ गतेदेखि शहरी स्वास्थ्य केन्द्रबाट अनमी सहित दुई जना कर्मचारीबाट सेवा दिइरहेको जानकारी दिए ।
पुरानो गाविस भवन मर्मत गरी स्थापना गरिएको शहरी केन्द्रबाट हाल नियमित खोप, दैनिक बिरामी जाँच, सुरक्षित मातृत्व, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन सेवा र सचेतनालाई प्राथमिकता दिने बताइएको छ ।
नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए । स्थानीय सरकार नागरिकको सेवामा हरबखत तल्लिन रहेको र आवश्यक पर्ने सामग्री नगरले बन्दोबस्त गर्ने बताउँदै नगरप्रमुख थापाले आवश्यक पर्ने सेवा सुबिधा स्वास्थ्य केन्द्रबाट लिन स्थानीयलाई आग्रह गरेका छन् ।
नगर स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले अहिले रामपुरमा १६ वटा स्वास्थ्य संस्थाबाट नगरवासीले सेवा पाइरहेको बताए । नेपालमा नै पहिलो विसं २०७० मा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा भएकाले यसको निरन्तरतामा जोड दिएको उनले बताए । स्वास्थ्य चौकीसहित गाँडाकोटमा आधारभुत स्वास्थ्य केन्द्र भलायटार, शहरी स्वास्थ्य केन्द्र खयरबोट र शहरी स्वास्थ्य केन्द्र चण्डीहानले वडा नम्वर १ र २ का नागरिकलाई नियमित सेवा दिनेछन् । रासस



प्रतिक्रिया दिनुहोस्