Logo

धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचोः अर्थमन्त्री शर्मा



काठमाडौं, जेठ २६। अर्थमन्त्री जनार्दन शर्माले नेपालको धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो रहेको बताएका छन् । बुधवार नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

अर्थतन्त्रको ऐनाका रूपमा रहेको धितोपत्र बजारमा उचित प्रविधि भित्र्याएर ऐनाकै रूपमा हेर्न सक्ने गरी अघि बढ्नुपर्ने शर्माको भनाइ छ । उनले पूँजीबजारप्रति आफू सधैं चिन्तित रहेको पनि बताए । धितोपत्रको स्वचालित कारोबार प्रणाली विश्वसनीय हुने गरी सहज रूपमा कारोबार गर्न पाउने व्यवस्था गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् ।

यस वर्षको बजेटमा पनि पूँजीबजारको विकासका मुद्दाहरू सम्बोधन भएकाले तिनको कार्यान्वयनबाट बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास शर्माको छ । आम लगानीकर्ताको उचित माग सम्बोधनका लागि सरकार सधैं सकारात्मक रहेको भन्दै उनले नियामक निकायलाई पनि उक्त कुरामा ध्यान दिन निर्देशन दिए ।

लगानीकर्ताको हित संरक्षणका खातिर नियामक निकायको क्षमता अभिवृद्धि आवश्यक रहेकोसमेत अर्थमन्त्री शर्माले औंल्याए । धितोपत्र बजारसम्बन्धी वित्तीय साक्षरताको खाँचो रहेको उल्लेख गर्दै उनले देशको कुनाकुनासम्म पुग्ने गरी वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पूँजीबजारमा उचित समन्वयको खाँचो औंल्याउँदै उनले समन्वयात्मक ढंगबाट काम गर्न नियामक निकायलाई निर्देशन दिएका छन् । बजार विकासका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गर्दा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र बीमा समितिबीच समन्वय हुनुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रममा अर्थमन्त्री शर्माले पूँजी बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको जानकारी दिए । अर्थ मन्त्रालयका अनुसार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीको संयोजकत्वमा बोर्डका सदस्यसचिवसहित नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधि सहभागी हुने गरी समिति गठन गरिएको हो । उक्त समितिले दिएको सुझावका आधारमा अर्थ मन्त्रालयले आगामी दिनमा काम अघि बढाउने अर्थमन्त्री शर्माले जानकारी गराएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्