Logo

मध्यमवर्ग बाँच्नै नसक्ने अवस्था छ, योभन्दा राम्रो शासन त बरु बिहारमा लालु यादवले चलाएका थिएः ज्योति बानियाँ



काठमाडौं, २६ जेठ । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले महँगी बढ्नुमा राजनीतिक कारण जिम्मेवार भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बानियाँले भने, “गएको चुनावमा राजनीतिक दलका नेताहरुले व्यापारीसँग खेलोफड्को गरेर चन्दा लिएका थिए । अहिले विभिन्न बहानामा बजारमा महँगी बढिरहेको छ । मध्यमवर्ग बाँच्नै नसक्ने अवस्था छ । राज्यसत्ता नागरिकका लागि भएन । जो गयो, उसैका लागि मात्र भयो । योभन्दा राम्रो शासन त बरु बिहारमा लालु यादवले चलाएका थिए ।”
मुलुकको राज्यसत्तामा केही व्यावसायिक घराना हाबी भएको आरोप पनि उनले लगाए । बानियाँले थपे, “केही घरानालाई सोधेर बनाउने अर्थमन्त्री, ऊर्जामन्त्री बनाउने अनि पोलिसी करप्सन गर्ने अवस्था आयो । पाँचसात वटा घरानाले सबै व्यापारीलाई भगाएर कब्जामा लिएका छन् । जस्तोः हामीले इन्धन हाल्दा बिल लिँदैनौं । हामीले नलिएको बिल ठूलो घरानाले लगेर कर तिर्दैनन् । यस्तो छ अवस्था ।”
सत्तापक्षमात्र नभएर विपक्ष पनि महँगी नियन्त्रणमा निकम्मा भएको उपभोक्ता अधिकारकर्मी बानियाँले बताए । उनले थपे, “प्रतिपक्षको धर्म त नेपाल मजदुर किसान पार्टीले मात्र निर्वाह गरेको छ । तर उसको आवाज सानो छ । एक जनामात्र सांसद छन् । प्रमुख प्रतिपक्षी दल सत्तारुढभन्दा गएगुज्रेको छ । सरकार वा मन्त्रीको ध्यान कहाँबाट कमिसन आउँछ भन्नेमा मात्र छ । बजियाहरुलाई कति पैसा चाहिँदो रहेछ कुन्नि ?”
बजारमा खुलेआम लुटपाट रहेको पनि उनको टिप्पणी छ । उनले भने, बजार भनेको लुटैलुटको पुलिन्दा हो । ६४ रुपियाँ किनेको चिनी ९९ मा बेच्दैछ । जानी जानी अब १३० पुर्याउँदै छ । खानेतेल कहाँबाट कहाँ पुगिसक्यो । भदौ, असोजमा अझै मूल्यवृद्धिको दबाब पर्छ ।
इन्धन निजी क्षेत्रलाई सुम्पन १० अर्ब कमिसनको खेल गरिएको आरोप पनि उपभोक्ता अधिकारकर्मी बानियाँले लगाए । उनले भने, “तेल भनेको कारोबारको वस्तु मात्र होइन, राजनीतिक वस्तु पनि हो । भाउ नियन्त्रण र आपूर्ति सहज बनाउने जिम्मेवारी मन्त्रालयको हो । तर यहाँ तेलको निजी क्षेत्रलाई लाइसेन्स दिनका लागि १० अर्बमध्ये ५ अर्ब कमिसन लिइसकेको सुनेको छु । संसदमा त्यत्तिकै कुरा उठेको होइन । म त्यसको वकपत्र गर्न तयार छु । यो सबै खोतलेर बाहिर ल्याउने तपाईं नै हो ऋषिजी । अरुले त्यसलाई पछ्याउने मात्र हो ।”

 



प्रतिक्रिया दिनुहोस्