Logo

बर्खा लागेसँगै नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु



चितवन, २६ जेठ । बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरुले सास्ती खेप्न बाध्य छन् ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लाग्ने गर्छ । गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौविसे सडक एक घण्टाअघिदेखि सञ्चालनमा आएको छ । चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो । त्यस्तै, इच्छाकामना–४ स्थित नाग्दीखोला र इच्छाकामना–५ स्थित कालिखोलामा बुधबार राति ११ः१५ बजेदेखि पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौबिसे सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

बिहीबार दिउँसो १२ बजेदेखि दुवै सडक खण्डमा गाडी सञ्चालनमा आएको प्रवक्ता अधिकारीले बताए । अहिले पानी परेको छैन । पानी पर्ने वित्तिकै पहिरो जाने जोखिम रहेकाले संयमित भएर सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्