Logo

संघ र प्रदेशको निर्वाचनमा कांग्रेस–माओवादीमात्रै गठबन्धनको तयारीमा, देउवासामू सिटमा प्रचण्डको ६०/४० को प्रस्ताव



काठमाडौं, २६ जेठ । सत्तापक्षीय गठबन्धनका मूल घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि दुई दलबीच मात्रै चुनावी गठबन्धनको गृहकार्य थालेका छन् । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष यस्तो प्रस्ताव गरेका छन् । गठबन्धनमा आवद्ध अन्य दलहरु नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल कांग्रेस र माओवादी केन्द्रसँग चिढिएसँगै देउवा–दाहाल दुई दलबीचमात्रै गठबन्धनको प्रयासमा जुटेका हुन् ।

पछिल्लो समय एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुले स्थानीय तहको गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल राम्रोसँग भएको र आफूहरुलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । यही बीचमा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले त वाम गठबन्धन गर्नुपर्नेमा जोड दिन थालेका छन् ।

उनले एमालेसँगको एकताको संकेत गरेका छन् । उता, उपेन्द्र यादव पनि कांग्रेस र माओवादी केन्द्रको भूमिकालाई लिएर संशकित छन् । यसैबीच आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे रणनीति गर्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल आजभोलि दिनहुँजसो आन्तरिक छलफलमा जुट्ने गरेका छन् । स्रोतकाअनुसार दुई दलबीच मात्रै चुनावी गठबन्धन गर्नेगरि देउवा–दाहालले तयारी थालेका छन् ।

दाहालले त प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिट बाँडफाँडबारे पनि छलफल थालेका छन् । उनले देउवासमक्ष संघ र प्रदेश दुवै सदनमा ६०/४० सिट संख्याको प्रस्ताव राखेका छन् । कांग्रेसले ६० प्रतिशत लिने र माओवादीले ४० प्रतिशत लिनेगरि समझदारी गर्न दाहालले प्रस्ताव गरेको स्रोतको दाबी छ । सभापति देउवा दाहालको प्रस्तावमा सकारात्मक सुनिए पनि उनले यसबारेमा पार्टीभित्र छलफल गरेर मात्रै निधोमा पुग्ने वचन दिएका छन् ।

यसअिघ प्रत्यक्षतर्फ १६५ सिटमा कांग्रेसले १०० सिट राख्ने र बाँकी ६५ सिटमा गठबन्धनमा आवद्ध दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच बाँडफाँड गर्नेगरि छलफल चलेको थियो । अहिले गठबन्धनमा सबै विकल्पमा खुल्ला छलफल हुनुपर्ने पक्षमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रहेका छन् । पाँच दलीय गठबन्धन कायम नरहे कांग्रेस र माओवादी केन्द्रमात्रै मिलेर चुनावमा जाने अवस्था भयो र ६०/४० भागबण्डा हुँदा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेसले ९९ सिट लिने र माओवादीले ६६ सिट पाउने देखिन्छ । तर, यो विषय अहिले छलफलको विषयमात्रै भएको र यसमा कुनै समझदारी नभएको दाहालनिकट स्रोतको दाबी छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्