Logo

इम्बोस्ड नम्बर प्लेटको ‘एम्बुस’



काठमाडौं, जेठ २७ । काठमाडौंको मण्डिखाटारका क्षितिज गौतम सोमबार मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट लगाउन गुर्जुधारास्थित यातायात कार्यालय पुगेका थिए। तर उनलाई प्रक्रिया बुझ्न मात्र आधा दिन लाग्यो। बाँकी समय फाइल खोज्दा र राजस्व तिर्न लाइनमा बस्दै बित्यो। मंगलबार फेरि उनी सोही कामका लागि यातायात कार्यालय पुगे।

बल्लतल्ल इम्बोस्ड नम्बर प्लेट त पाए तर फेरि डाटा ‘सबमिट’ भएन भनियो। त्यो दिन पनि त्यसै बित्यो। बुधबार पनि बिहानै उनी कार्यालय पुगे। लामो दौडधुपपछि दिउँसोतिर उनको हातमा नम्बर प्लेट पर्‍यो तर त्यो फिट गर्ने मान्छे नभेटिँदा ३ बजेसम्म हिलो र झरीबीच अलमलिनुपर्‍यो।

इम्बोस्ड नम्बर प्लेट लिएपछि त्यसलाई कार्यालय परिसरमा हुँदैको अवस्थामा सवारीसाधनमा जडान गर्नुपर्छ। नयाँ प्लेट राखेको फोटो खिचेर रुजु गर्न छुट्टै जनशक्ति खटाइएको हुन्छ। जसका कारण प्लेट लिएपछि फेरि रुजुका लागि खटाइएका व्यक्ति खोज्दै हिँड्नुपर्ने अवस्थाले सेवाग्राहीलाई थप हैरान बनाउँछ।

‘मलाई इम्बोस्डमा भएको भनिएका चलखेलबारे केही थाहा छैन,’ बुधबार अपराह्न दिक्दार अवस्थामा भेटिएका गौतमले भने, ‘तर तीन दिन यातायात कार्यालयको अस्तव्यस्ततामा बिताउनुपर्दा एम्बुसमा परेजस्तै भयो।’ यातायात व्यवस्था विभागअन्तर्गतको कार्यालयमा देखिएको यो अस्तव्यस्ताले आफूलाई निकै दिक्दार बनाएको उनले सुनाए। ‘सरकारलाई कहिल्यै चेत आएन,’ आफ्नो पीडालाई उनले सामाजिक सञ्जालमा समेत पोखे, ‘जनतालाई दुःख दिने यस्तो सरकार त विश्वमा कहीँ पनि नहोला?’

यस्तो पीडा भोग्ने उनी एक्ला सेवाग्राही होइनन्। सरकारले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनमा साउन १ देखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने सूचना निकालेलगत्तै हजारौं सर्वसाधारणले यातायात कार्यालयमा यस्तै समस्या भोगे, भोगिरहेका छन्। यातायात व्यवस्था विभागले गत शुक्रबार सूचना प्रकाशित गरेर अनिवार्य रूपमा इम्बोस्ड नम्बर लिन आग्रह गरेसँगै पहिलो दिन त यातायात कार्यालयमा एकाएक भिड बढ्दा अस्तव्यस्तताले झडप होलाजस्तै परिस्थिति सिर्जना भयो।

अनलाइनबाट आवेदन दिए पनि इम्बोस्ड नम्बर प्लेट जडानका लागि सेवाग्राहीले निकै सास्ती भोग्नुपर्ने देखिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot