Logo

लोसपा र जसपा मिले तीनवटा पार्टी बन्छन्ः अनिलकुमार झा



काठमाडौं, २७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले जनता समाजवादी पार्टीसँग एकता असम्भव भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “उपेन्द्र यादवसँग लोसपाको एकता सम्भव छैन । जसपा आफैं फुट्न लागेको छ । उपेन्द्रजीले मन्त्री बनाउँछु भनेर सबै उदण्डहरुलाई जम्मा गर्नुभएको थियो । अब उहाँले थेग्न सक्नुुहुन्न । तर गिभ एन्ड टेकका आधारमा गठबन्धन भने बन्न सक्छ ।”
जसपाले गठबन्धन गरेर जाँदा पनि कुनै उपलब्धि हासिल नगरेको उनले औंल्याए । झाले थपे, “उपेन्द्र यादवजीले ५ वटा दलसँग गठबन्धन गरेर जाँदा पनि सिट घट्यो । हामीले एक्लै लड्दा पनि यथावत् रह्यो । त्यसैले उहाँको पार्टीसँग लोसपाको एकता हुने कुनै सम्भावना छैन । सिंगो रुपमा दुई पार्टीबीच एकता हुनै सक्दैन । दुइटा पार्टी मिलेर तीनवटा पार्टी हुन्छ । कसैले भित्रभित्रै तिकडम गरेको रहेछ भने पनि मबाहेक हुन सक्छ । मलाई लाग्छ, पार्टी एकता गरेर जाँदा घाटा हुन्छ ।”
स्थानीय तहको निर्वाचनमा लोसपाको सिट नघटेको झाको दाबी छ । उनले भने, “निर्वाचनमा कहिले बढी सिट आउँछ, कहिले कम सिट आउँछ । दलीय व्यवस्थामा हारजित चल्छ । जित्नेले हार्छ, हार्नेले जित्छ । तर यसकै आधारमा पार्टी डिजल्भ गर्ने, आत्महत्या गर्ने, अर्को पार्टीमा मिलाउने कुरा हुन्न । राजपा हुँदा हाम्रा २५ जना पालिका प्रमुख थिए । पार्टी विभाजनताका हाम्रो पक्षमा १६ जना पालिका प्रमुखले सनाखत गरेका थिए । हामीले अहिले पनि १६ सिट जितेका छौं । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका धेरै साथीले जसपामै बसेकाले लोसपा कमजोर भएकै हो । तर अब पार्टीलाई मजुबत बनाएर लाने हो । लोसपा लोसपा नै रहनुपर्छ । अब जोडघटाउको राजनीति गर्नुहुन्न ।”
प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने सम्बन्धमा कुनै कुराकानी नभएको उनले बताए । झाले थपे, “महन्थ ठाकुरले ‍सरकारमा जाने कुरा गरेको मेरो जानकारीमा छैन । हामीले आफ्ना माग स्मरण गराएका हौं । एक वर्षदेखि हाम्रा माग समाधान भएका छैनन् । देशको प्रधानमन्त्रीलाई माग राख्नु कुनै पाप त होइन । कुनै अनुचित होइन, कानुनले पनि रोक्दैन । चुनावमा सहकार्य वा सरकारमा सहभागिता हाम्रो चाहनाले मात्र हुने कुरा होइन ।”



प्रतिक्रिया दिनुहोस्