Logo

लुक्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प



सोलु, जेठ २७ । सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा पाँच दिनदेखि लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रुहरू अलपत्र परेका छन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन सकेको छैन ।

दैनिकजसो दर्जनौँ उडान हुने खुम्बुक्षेत्रको एकमात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाडौँबाट आउने दुवैतिरका यात्रु अलपत्र बनेका छन् । लुक्लामा मौसममा सुधार आउला र काठमाडौँ जान पाइएला भनी विमान कुरेर यात्रुहरू बसिरहेको बताइएको छ ।

पर्यटकीय विमानस्थल लुक्लामा बाक्लो कुइरो र वर्षाका कारण उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिए । उनका अनुसार १० दिन यता मौसम प्रतिकुलताका कारण उडान प्रभावित बन्दै आएकोमा पाँच दिनदेखि पूर्ण रूपमा हवाईजहाज र हेलिकप्टरको समेत कुनै उडान हुन सकेको छैन ।

अहिले पर्यटकीय यामको अन्त्य हुँदै गएको र हिमाल आरोहण गरी फर्कने यात्रु समस्यामा रहेको उनको भनाइ छ । लुक्लामा तारा एयर, समिट एयरलगायतले उडान गर्ने गरेका छन् । तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रुहरू पैदलमार्फत सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्य तय गरेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्