Logo

मन्त्रीलाई पानीको बोत्तलले हिर्काएको होइन, असार ३ सम्म माग पूरा नभए मन्त्रीकै च्याम्बरमा अनशन बस्छुः सांसद रामबाबु यादव



काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात नगरेको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै सांसद यादवले भने, “मसँगै दुई जना सांसद साथी पनि थिए । मैले झोलुंगे पुल, कृषि सडक, सिँचाइ जस्ता जिल्लाका साना योजना मन्त्रीलाई तीन चोटि दिएको थिएँ । तर बजेटमा एउटा पनि पारिएन । मन्त्रीले योजना परेको छ भन्नुभयो । तर रातो किताबमा देखिएन । मलाई सोफामा राखिएको थियो । मेरो कुरा नसुनिएपछि मैले पानीको बोत्तल टेबुलमा ठटाएको हो । मन्त्रीलाई पानी बोत्तलले हानेको होइन । दुवैको प्रतिष्ठामा आँच आउने कुरा भएको छैन ।”
मन्त्री हटाउने योजनामा आफू मन्त्रालय नगएको पनि उनले स्पष्ट पारे । उनले भने, “उहाँ पार्टीको नेता हो । तर नेता भएर के गर्नु ? नेताबाट गल्ती भएको छ भने चुप लागेर बस्न सकिँदैन । मैले समय लिइसकेपछि मन्त्रीले दिनुपर्छ । देशको मन्त्रीले नै जनप्रतिनिधिको कुरा नसुन्ने हो भने केको सरकार ? केको मन्त्री ? मन्त्रीले अटेर गरेपछि मैले सतर्क गराएको हो । यसलाई द्वन्द्व भन्न मिल्दैन । तपाईंले प्रश्न गर्दा मसँग द्वन्द्व गरेको हुन्छ र ? म जनप्रतिनिधि हुँ । जनता करदाता, अन्नदाता र मतदाता मात्र होइनन् । मेरो मन्त्री हटाउने योजना होइन । असार ३ गतेसम्म माग पूरा भएन भने म मन्त्रीकै च्याम्बरमा अनशन बस्छु ।”
बजेटमा मन्त्रीहरुबीच फिक्सिङ हुने गरेको आरोप पनि उनले लगाए । यादवले भने, “बजेटमा एक मन्त्रीले अर्को मन्त्रीसँग फिक्सिङ गर्छन् । विकास गर्नका लागि मन्त्री नै हुनुपर्ने अवस्था छ । पर्यटन मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र १२८ क्षेत्रमा योजना परेका छन् भने मधेस प्रदेशभरिमा ४८ वटा मात्रै छन् । ऊर्जा मन्त्रालयको बजेटमा बारा जिल्लाको नामै छैन । कर मन्त्रीका लागि मात्र उठेको हो र ?”



प्रतिक्रिया दिनुहोस्