Logo

खराब ब्याटिङसँगै नेपाल ओमानसँग १३ रनले पराजित



काठमाडौं, जेठ २५ । करण केसीले कीर्तिमानी पाँच विकेट लिएपनि खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपाल आईसीसी विश्वकप लिग-२ अन्तर्गत भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमै पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

जीतको लागि २ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमै १ सय ९८ रनमै समेटियो । नेपालको लागि अरिफ शेखले अर्धसतक पूरा गर्दा अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । अरिफले ७९ बलमा ६ चौका प्रहार गर्दै ६६ रन बनाउदा देभ खनालले ३४ रन बनाए । उनले ५३ बलमा ५ चौका प्रहार गरे । यस्तै रोहित पौडेलले २०, दीपेन्द्र सिंह एरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र सुनिल धमलाले १२ रन जोडेपनि नेपाललाई जीत दिलाउन पर्याप्त रहेन ।

ओमानको लागि जेशन मकसोदले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । खवर अलीले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिँदा बिलाल खानले २ र अयन खानले एक विकेट लिए ।

यसअघि मोसा क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ११ रन जोडेको थियो । ओमानको लागि कप्तान जेशन मक्सोदले सतक प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । उनले १ सय २६ बलमा १२ चौका प्रहार गरे । यस्तै खवर अलीले ३०, शोइब खानले २७, सुरज कुमारले १२ र जतिन्दर सिंहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेपालको लागि करण केसीले १० ओभरमा ३८ रन खर्चिदै ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर २ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

जीतसँंगै ओमान ३४ खेलबाट ४२ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ भने पराजित नेपाल १३ खेलबाट १२ अङ्कको साथ छैटौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्