Logo

पूर्व सभासद् डा. महतोद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न, फलफूल तथा शैक्षिक सामाग्री सहयोग



काठमाडौं, २७ जेठ । पूर्व सभासद तथा फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले मानवसेवा आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग प्रदान गरेका छन् । काठमाडौंको वनस्थलीमा रहेको आश्रममा पुगी महतोले सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

साथै, उनका छोराद्धय तनिष र तन्यम, भतिजी युक्ति र भतिजा यज्ञद्धीपले आश्रममा रहेका बालबालिका तथा बयोवृद्धलाई फलफूल र जुस प्रदान गरेका थिए । महतोले खाद्यान्नमा चामल, दाल, नून, तेल, चिनी र चियापत्ति सहयोग गरेका हुन् । सो अवसरमा महतो र कार्यक्रममा उपस्थित् उनका परिवारका सदस्यहरुले आश्रममा रहेकाहरुलाई खाना पनि सर्भ गरेका थिए ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राखेका डा. महतोले आफू आश्रम परिवारसँग जोडिन पाउनुलाई नै भाग्यमानी ठाने । उनले भने,‘सायद पूर्व जन्ममा मैले कुनै राम्रो काम गरेको थिएँ होला, र आज म तपाईँहरुसँग एउटै परिवारको सदस्यको रुपमा जोडिन आईपुगेको छु । यसमा म आफूलाई धेरै नै भाग्यमानी ठान्दछु ।’ माछापुच्छ्रे बैंकका अध्यक्षसमेत रहेका डा. महतोले समाजसेवा नै मानव जीवनको सबैभन्दा ठूलो सफलता भएको भन्दै आगामी दिनमा पनि आश्रम र यसका परिवारसँग जोडिरहने, र सुख र दुःखमा साथ दिने वचन दिए ।

डा. महतोले मानवता प्रवद्र्धनको एकमात्रै लक्ष्य राखेर आश्रमले स्थापना कालदेखि नै गरेको सेवाप्रति आफू सधैं नतमस्तक रहेको भन्दै सहयोगी मनले यसमा सहयोग पुर्याउने पनि विश्वास लिए । आश्रममा सबै उमेर समूहका १८० भन्दा बढि आश्रित छन् ।

सो अवसरमा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कँडरियाले आफूले पुलको रुपमा काम गरेको बताउँदै सेवामा आवद्ध हुँदा खुशी लागेको बताए । उनले समाजसेवा आँफैमा पवित्र काम भएको बताउँदै यसको प्रचारको लागि भन्दापनि सहयोगी मनलाई उत्प्रेरणा दिलाउनको लागि पनि आश्रममा हुने राम्रा काम मिडियामा जानुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्