Logo

शून्य समयः बाढी पहिरोबाट जोगाउन पूर्व तयार भएन



काठमाडौँ,२७ जेठ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले वर्षायाम सुरुभएसंगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरे । उनले भने “चट्याङ, बाढी पहिराले देशमा धेरै भू–भागमा धनजनको क्षति पु¥याइरहेको छ । सरकारको पूर्वतयारी, उद्धार तथा प्रभावकारी पुनःस्थापनाको कार्यक्रम छैन । ”

सांसद भूपेन्द्रबहादुर थापाले वर्षायाम समय सुरु भएर बाढी पहिरो आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि पूर्व तयारी नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई उद्धार र राहतमा ध्यान दिन माग गरे ।

सांसद यशोदा गुरुङ सुवेदीले पृथ्वीराजमार्गको डम्पिङ भन्ने ठाउँमा पहिरो खस्दा आवागमन बन्दा भएको र स्थानीय तथा प्रादेशिक सरकारको समन्वयमा राजमार्ग खुलाउन पहल भइहरहेको बताए ।

सांसद राजेन्द्रकुमार राईले धान रोप्ने समयमा किसान मल नपाएर अप्ठ्यारोमा परेका छन् भने । सांसद विमला विकले वर्षायामसँगै किसानलाई मल चाहिन्छ भन्ने कुरा सरकारलाई जानकारी भएपनि प्रत्येक पटक मल पाउन मन्त्री नै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

सांसद राजेन्द्रप्रसाद लिङ्देन र महेन्द्रकुमारी लिम्बूले झापा कलम गाउँपालिकामा रेल निर्माणका लागि रोक्का गरेर राखेको जग्गा फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बस्नेतले सरकारले डिजेल र पट्रोलको मूल्य , निर्माण क्षेत्रमा २५ प्रतिशत सामग्री मूल्य बृद्धि गरेकोमा आपत्ति जनाउँदै जनतालाई राहत दिने कार्यक्रम ल्याउन सरकारसंग माग गरे ।

मीनबहादुर विश्वकर्माले यही जेठ २० गते ललितपुरमा गुरुकूलले जात सुनार भन्ने थाहा पाएपछि विद्यार्थीले पढ्न नदिएको र सामाजिकरूपमा छुवाछूत फैलाउने गुरुकूलका प्राचार्य तेजप्रसाद भट्टराई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मीना सुब्बाले कृषकले माना रोपेर मुरी उब्जाउने बेलामा समयमा मल नपाउने कारणले गर्दा मारमा पर्ने गरेको हुँदा समयमै किसानलाई मलको व्यवस्थापन गर्न माग गरिन् । सांसद रामवीर मानन्धरले काठमाडौँको फोहरमैला व्यवस्थापन गर्न जरुरी रहेको र त्यसका लागि संसदीय समितिले आफूलाई अध्यक्ष बनाएर जिम्मा दिएमा आफूले गरेर देखाउने जानकारी दिए।

सांसद रङ्गमती शाहीले अवैधरूपमा नेपालीलाई खाडी मुलुक र अन्य मुलुकमा समेत मानव तस्करी हुने गरेकोप्रति अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराईन्।

सांसद रेनुका गुरुङले सांसदले खानेपानी खान पाउनुपर्ने र जुनसुकै स्थानमा पनि जानका लागि रोक लगाउन नहुने बताईन् । रासस



प्रतिक्रिया दिनुहोस्