Logo

काठमाडौंको फोहोर व्यवस्थापन र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष गर्ने नेकपा (एकीकृत माओवादी) को चेतावनी (भिडिओसहित)



काठमाडौं, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले काठमाडौं उपत्यकाको फोहोर तत्काल व्यवस्थापन नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको फोहोर व्यवस्थापन र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तुरुन्त फिर्ता नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको हो ।

पार्टीको गत जेठ २५ गते सम्पन्न केन्द्रीय समितिको बैठकले पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि तुरुन्त हटाउनुपर्ने माग अघि सारेको छ । यस्तै, उक्त पार्टीले अब पेट्रोलियम पदार्थको विकल्प खोजिनुपर्ने पनि माग गरेको छ ।

त्यस्तै, काठमाडौंको फोहोर तत्काल व्यवस्थापन गर्न र काठमाडौंलाई फोहोरमुक्त गर्नुपर्ने जोडदार माग गर्दै पार्टीले इम्बोस्ड नम्बरको बारेमा वास्तविकता छानबिन गरी देवनागरी लिपीमा नै नम्बर लेखिनुपर्ने जनाएको छ ।

यसैगरी, डोजरे विकासलाई दिगो र गुणस्तरीय विकासमा परिणत गर्ने, सरकार एक चीन नीतिमा कटिबद्ध हुनुपर्ने, दक्षिणी सीमालाई वैज्ञानिक विधि अपनाई सिमांकन गरि तत्काल सीमा विवाद अन्त्य गर्न, किसानहरुलाई सजिलै किसान वीमा र पेन्सन, उखु किसानको भुक्तानी, स्वदेशी उत्पादनका बजार आदिको राम्रो व्यवस्था गर्नुपर्ने प्रस्ताव पार्टीले अघि बढाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता जञ्जिर शाहीले पार्टीको केन्द्रीय बैठकले गरेका निर्णयहरु सुनाउँदै कमिसन खोरहरुको अन्त्य गर्नुपर्ने बताए । उनले भने,‘कमिसन खोर र भ्रष्टाचारीहरुलाई तत्काल कारवाही गर्न हामीले जोडदार माग गरेका छौ ।’

उनले दिनप्रतिदिन भ्रष्टाचार, महंगी, पेट्रोलियम पदार्थको मुल्य बढेको भन्दै आपक्ति जनाए । इम्बोस्ड नम्बरमा करोडौं चलखेल भएको चर्चा चलिरहेको भन्दै उनले वास्तविकता के हो त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने बताए । ठुला पार्टीहरुले पनि अब नयाँ तरिकाबाट सोच्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

संसदीय व्यवस्थाको चरम लापरवाहीको कारण अहिले उक्त व्यवस्थाको विरोधमा आवाज सुनिनथालेको उनले टिप्पणी गरे । उनले मुलुकका विद्यमान समस्या समाधानको लागि आफ्नो पार्टीले नयाँ विधि अपनाएको पनि सुनाए । असार महिना सुरु हुनुअघि नै किसानहरुले मल नपाएको गुनासो गर्न थालेको भन्दै तत्काल सरकारले किसानलाई मल उपलब्ध गराउनुपर्ने माग गरे । उनले भने,‘दुध व्यवसायीहरुले सडकमा दुध, कृषकहरुले तरकारी सडकमा फाल्नुपर्ने दुःखद् अवस्था आएको छ, सरकारले किसानका समस्यालाई बेवास्ता गर्नुहुँदैन् । किसानका समस्यालाई गम्भीर रुपमा लिनुपर्यो ।’

 



प्रतिक्रिया दिनुहोस्