Logo

के एमसीसी सँगै ‘अमेरिका सेना पसेको’ हो



काठमाडौं, २७ जेठ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालको सदन र सडक खूबै ततायो । ज जस्ले विरोध गरे उनीहरु नै पारित गर्ने सहयोगी बने । एमसीसीको विरोध गर्दा नेकपा माओवादी केन्द्रका जिम्मेवार नेताहरुले नै यसलाई हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाले ल्याएको सैन्य रणनीतिको हिस्सा भन्ने गरेका थिए । देव गुरुङ्गले त खुलेरै यसको विरोध गर्दै अमेरिकी सेना भित्राउन खोजेको आरोप लगाए ।

एमसीसी पारित भई कार्यान्वयनमा काम बढिरहेको छ । एमसीसी पारित भएपछि अमेरिकी सक्रियता नेपालमा बढेको छ । अमेरिकी मन्त्री देखि सांसदहरु समेत आउने क्रम बढेको छ । तर, बिहिबार मात्र अमरिकी सेनाको हिन्द प्रशान्त क्षेत्र हेर्ने कमाण्डर चाल्र्स ए. फ्लिन नेपाल आएका छन् । यसले अमेरिकाले हिन्द प्रशान्त क्षेत्रको सैन्य रणनीति अन्तर्गत नेपाललाई पनि समेट्न खोजेको त होइन ? प्रश्न तेर्सिएको छ । फ्लिन सिधै नेपाल नआई भारतको भ्रमण गरी आएका छन् । भारतसँग अमेरिकाको बलियो सैन्य सम्बन्ध छ । हिन्द प्रशासन सैन्य रणनीतिमा भारत पनि छ । यसलाई भारतको तर्फबाट अमेरिकाले नेपाल मामलामा आफ्नो रणनीति प्रयोग गर्न थालेको विश्लेषण गर्न थालिएको छ ।

फ्लिनले भारतमा रहँदासंयुक्त युद्धअभ्यासबारे छलफल गरेका थिए । उक्त अभ्यास अक्टोबरमा भारतको हिमाली क्षेत्रमा हुने तय भएको छ । जुन क्षेत्र ९ हजार देखि १० हजार फिटमा हुने समेत फ्लिनले सञ्चारमाध्यमलाई बताएका थिए । यसमा हवाई फौज सहभागी हुनेछ । उनले युद्ध अभ्यासको कुरा गरिरहँदा चीनलाई नाम नलिई चेतावनी दिएका थिए । उनले दक्षिणी हिमाली क्षेत्रमा बेइजिङको दबाबमूलक व्यवहारमाथि चेतावनी दिएका हुन् । उक्त क्षेत्र भारत र चीनबीच विवाद भइरहेको क्षेत्र हो । गत महिनामाथि चीनले पाङगोङ शो तालमा पुल बनाउन थालेको छ । भारतले उक्त कदमको विरोध गरिरहेको छ । जनरल फ्लिनले उक्त गतिविधिलाई आँखा खोलिएको र सतर्क भएको व्याख्या गरे ।

पत्रकारहरुको प्रश्नमा उनले चीनको गतिविधिप्रति संकेत गर्दै त्यसलाई विध्वंशकारी र भ्रष्ट गतिविधि भने । उनले त्यसविरुद्ध काउन्टर दिन अमेरिका र भारत मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । फ्लिन भारतको भ्रमण पछि नेपाल आउनु आफैमा अर्थपूर्ण छ ।

यसैगरी, फ्लिन फर्किएपछि असारमा प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तय भइसकेको छ । उनको भ्रमण आफैमा अर्थपूर्ण छ । एकातर्फ फ्लिनको भ्रमणमा चीनले चासो दिइरहेको छ भने शर्मा अमेरिका जान लाग्दा पनि चीनको चासो छ । विगतमा चीनका जर्नेलहरुको नेपाल आवतजावत बाक्लो थियो । अहिले चीनका जर्नेलहरुको ठाउँमा अमेरिकीहरुको आवतजावत बढ्न थालेको छ । नेपालमा चीनको प्रभाव घटेको र अमेरिकाको बढेको घटनाको रुपमा यसलाई लिन थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्