Logo

त्रिविमा छानविन समिति गठन गर्न नेविसङ्घको माग



काठमाडौँ,२७ जेठ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी त्रिवि भित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद्ध प्रहारका बारेमा छानविन गर्न १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गरेको हो ।

अध्यक्ष शेर्पाले त्रिविमा भएको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद्ध प्रहारको विरोधमा नेविसङ्घले विगत पाँच महिनादेखि लगाएको तालासमेत खोल्ने बताएका छन् ।

उनले त्रिविभित्र हुने जुनसुकै अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने मान्यता नेविसङ्घले लिएको बताउँदै शैक्षिक वातावरण बिथोल्ने आफ्नो सङ्गठनको कुनै मनसाय नरहेको स्पष्ट पारे । अध्यक्ष शेर्पाले त्रिविमा नेविसङ्घ समर्थित विद्यार्थीलाई अनेक लाञ्छना लगाउँदै नेविसङ्घको सामाजिक, राजनीतिक र शैक्षिक योगदानमा हिलो छ्याप्ने कार्य भएको भन्दै दुःखसमेत व्यक्त गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्