Logo

कार्यशाला गोष्ठी



काठमाडौँ,२७ जेठ । युवा पिँढीलाई लागुऔषधबाट जोगाउन र आगामी आर्थिक वर्षमा स्थानीय तहले बनाउने बजेटमा लागुऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम राख्न गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले आज यहाँ एक कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रण’सम्बन्धी कार्यशाला गोष्ठीमा यसको प्रयोगका कारण समाज मात्र नभइ घर पनि बिग्रिने भएकाले रोकथाममा सबैले चासो दिनुपर्नेमा जोड दिइयो । करिब १२ वर्षदेखि ३५ वर्षका युवा यस्तोलतमा फस्ने भएकाले विद्यालय तहदेखि नै रोकथाममा विशेष ध्यान दिनुपर्ने र यसका लागि शिक्षकहरुले निगरानी गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागुऔषधले घर, समाज र राष्ट्र नै धरापमा पर्ने स्थिति आउन नदिन सबैले एकजुट भएर रोकथाम एवं नियन्त्रणमा पहल गर्नुपर्ने बताए ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लागुऔषधजस्ता घातक वस्तुको प्रयोगको असर प्रयोगकर्ताका साथै अन्य व्यक्तिमा पनि परिरहेको छ भने ।

सीमा क्षेत्रमा यसको कारोबार बढी हुने गरेको र प्रयोगकर्ता पनि यही समाजका व्यक्ति भएकाले प्रयोगकर्तालाई लागु औषधको दलदलबाट निकाल्न सबैले प्रयास गर्नु आवश्यक छ भने । प्रहरी अधिकृत, कार्यालय प्रमुख, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुखको सहभागिता रहेको सो कार्यक्रममा गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसाल र लागु औषध नियन्त्रण शाखाका अधिकृत गोकर्णप्रसाद उपाध्यायले पनि यसबाट पर्ने असरबारे चर्चा गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्