Logo

दार्चुलामा अनिभाको आगो लगाएर हत्या प्रकरणः तीनजना महिलामात्र भएको घरमा विहानै किन पुगे भोजबहादुर



काठमाडौं, २७ जेठ । दार्चुलामा बलात्कारपछि हत्या गरी महिलालाई जलाइएको घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले घटनाको अनुसन्धानबाट खुलेका तथ्यहरुबारे जानकारी दिइने बताए ।

घटनामा अहिलेसम्म भोजराज खडायत पक्राउ परेका छन् । उनले बयानमा हत्याबारे भनेको आधारमा प्रहरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्न लागेको हो ।

विश्वस्त स्रोतका अनुसार। ४५ वर्षीया अनिभा खडायतको बलात्कारपछि हत्या भएको बयानबाट खुलेको छ । यसअघि नै घटनामा बलात्कारको आशंका भएको थियो । अनिभाको पतिको मृत्यु भएको ७ वर्ष भएको थियो । घरमा दुई छोरी मात्र थिए । एक छोरीको विवाह भएको र छोरा कामको सिलसिलामा बैंगलोरमा थिए ।

शैल्यशिखर नगरपालिका १ बारिलमा अनिभामाथि ढुङ्गा प्रहार गरी हत्या भएको थियो । उनको हत्या लुकाउन आरोपीहरुले कुन्यूमा आगो लगाएका थिए ।

घटनामा पक्राउ परेका भोजबहादुर खडायत बुधबार विहान ३ बजे अनिभा खडायतको घरमै पुगी बोलाएका थिए । भोजबहादुरले बोलाउँदा अरु दुई जना पुरुषहरु पनि रहेको र आमा बाहिर गएको १६ वर्षीया छोरी गौमती खडायतले प्रहरीसँगको बयानमा भनेको खुलेको छ । आमा निकै बेरसम्म नफर्किएपछि उनले मोबाइलमा फोन गर्दा अफ थियो । भोजबहादुरले गौमतीलाई पनि डाकेका थिए । उनले आमाबारे सोध्दा भोजबहादुरले गौमतीको हात समातेर तान्न थालेपछि फुत्किएर भागेकी थिइन् ।

गौमती चिच्याउँदै छिमेकीको घरतर्फ लागेपछि रणवीरको परिवार उठेर बाहिर निस्किएको थियो । साँढे ४ बजेको उक्त घटनापछि खोजीका क्रममा आगो बलिरहेको भेटियो । त्यहाँ अनिभा जलिरहेको भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाका आरोपीहरु वीरेन्द्र खडायत र तुला खडायत भागेपनि पक्राउ परेका छन् । वीरेन्द्र माओवादी केन्द्रका शैल्यशिखर नगर कमिटीका उपाध्यक्ष हुन् । तुला भारतमा काम गरेर चुनाव अघि फर्किएको खुलेको छ । भोजबहादुर चमेली हाइड्रोका सुरक्षा गार्ड भएको खुलेको छ । हत्यापछि तीनै जना फरार थिए । उनीहरुले गौतमी खडायतको पनि हत्या गर्ने सम्भावना थियो । तर, उनी भागेर ज्यान जोगाउन सफल भइन् ।-Photo Source: Social Media



प्रतिक्रिया दिनुहोस्