Logo

चीनमा युवायुवतीलाई चाँडो विवाह गर्न दबाब



एजेन्सी, २७ जेठ । कुनैबेला चीनमा चाँडो विवाह निरुत्साहित गरिन्थ्यो र एक भन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो । अहिले जनसंख्या वृद्धिदर घट्न थालेपछि चीन चनाखो भएको छ । युवा जनसंख्या निकै कम हुने प्रक्षेपणहरुका कारण चीन सरकारले आफ्ना नागरिकलाई चाँडो विवाह गर्न र तीन बच्चा जन्माउन जोडबल गर्न थालेको छ ।

जिओपोलिटकाको रिपोर्ट अनुसार चीन सरकारले नागरिकलाई चाँडोभन्दा चाँडो विवाह गरेर कम्तिमा तीन बच्चा जन्माउन दबाब दिन थालेको हो । तर, चीनमा अधिकांश दम्पत्तिहरुले आर्थिक असुरक्षाका कारण बच्चा जन्माउन नमान्ने र जन्माए पनि एकमात्र सन्तान जन्माउने गर्दै आएका छन् ।

कोरोना भाइरसको महामारी र लामो लकडाउनले धेरै मानिसहरु घरभित्रै बस्न वाध्य भए । खाद्य अभाव, आम्दानीको कमी, मूल्यवृद्धि, जस्तो समस्याहरुले दम्पत्तिहरु बढी पीडित भएको हङकङ पोष्टले लेखेको छ ।

चीनमा विवाह गर्ने जोडीको संख्या पनि घटेको तथ्यांक छ । प्रति हजार मानिस बराबर ७.५ जन्म भएको तथ्यांक समेत छ । चिनियाँ महिलाहरुले व्यक्तिगत प्रगतिका लागि ढिलो विवाह गर्ने र बच्चा कम संख्यामा जन्माउने परिस्थिति विकास भएको छ । यसकारण पनि त्यहाँको जनसंख्या वृद्धिदर घटेको छ ।



प्रतिक्रिया दिनुहोस्