Logo

बजेट पास भएपछि मन्त्री हेरफेर हुन्छः उमेश श्रेष्ठ



काठमाडौं, २८ जेठ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले संसदबाट बजेट पारित भएपछि मन्त्रीपरिषद् हेरफेर हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले भने, “नेकपा (एकीकृत समाजवादी) ले अप्ठ्यारो स्थितिमा मन्त्री सिफारिस गरिदियो । अहिले संसदमा मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ । बजेट असारको २, ३ गतेभित्र पास भइसक्छ । बजेट पास भएपछि मन्त्री परिवर्तन होला । विशेष अवस्थाका कारण विलम्ब भएको हो । प्रधानमन्त्रीले रोक्नुभएकोे होइन ।”
राज्यमन्त्री श्रेष्ठले गठबन्धन दलहरु मिलेर जाने पनि बताए । उनले थपे, “प्रधानमन्त्रीले सबैलाई हटाएर नयाँ मन्त्री ल्याउन पनि सक्नुहुन्छ । अथवा कतिपयलाई यथावत् राख्न पनि सक्नुहुन्छ । त्यो उहाँको अधिकारको विषय हो । गठबन्धन दलहरु मिल्नुको विकल्प छैन । मिलेर जाने हो । मिलाएर जाने हो ।”
प्रधानमन्त्री कार्यालयमा काम नभएको भन्ने कुरा उनले अस्वीकार गरे । श्रेष्ठले भने, “प्रधानमन्त्री कार्यालयमा काम नभएको होइन । काम छ, तर देखिँदैन । खासगरी यसले विभिन्न मन्त्रालयहरुबीच पुलको काम गर्छ । यसको काम धेरै छ । मैले त प्रधानमन्त्रीको कार्यालयमा उपप्रधानमन्त्री नै राख्नुपर्ने देखेको छु ।”
रासायनिक मल आयातमा कृषि मन्त्रालयको कमजोरी देखिएको पनि उनले बताए । राज्यमन्त्री श्रेष्ठले भने, “हामीलाई प्रत्येक वर्ष ५ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ । मल चाहिन्छ भन्ने थाहा हुँदाहुँदै इलेभन्थ आवरमा समाधान खोज्नु कृषि मन्त्रालयमा व्यवस्थापनको कमीकमजोरी हो । भारत सरकार मल दिन तयार छ । तर मल ढुवानी गरेर ल्याउन ४५ दिन लाग्छ भनिएको छ । दुईतीन दिनभित्र ल्याउन किन सकिँदैन ? नीति, नियम सच्चाएर भए पनि प्रक्रिया सहज बनाइदिनुपर्छ भनने मेरो भनाइ हो ।”
अर्को प्रसंगमा उनले सरकारले विशाल ग्रुपलाई नपोसेको पनि दाबी गरे । श्रेष्ठले भने, “सरकारले एउटा व्यावसायिक घरानालाई मात्र पोसेर मुलुक समृद्ध हुँदैन । धेरै ठाउँमा लगानी भएकाले विशाल ग्रुपले कतै केही पायो होला । तर एउटा कुरा के बिर्सनुहुँदैन भने निजी क्षेत्र भनेको ८० प्रतिशत हो र सरकार भनेको २० प्रतिशत मात्र हो । सबैभन्दा धेरै करदाता पनि निजी क्षेत्र नै हो । त्यसैले हाम्रा नीति, नियम पनि निजी क्षेत्रमैत्री हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्