Logo

लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान



डोटी, जेठ २८। मुक्तहलियाका लागि पाँच वर्षअघि डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगलेक जङ्गलमा निर्माण गरिएको नमुना बस्ती सुनसान छ । नमुना बस्तीका १८ घर लथालिङ्ग छन् । लक्षित समुदायले सो स्थानमा बस्न नरुचाएपछि बस्ती राख्न सरकारले खर्च गरेको एक करोड रुपैयाँ बेकाम भएको छ ।

२०७४ सालमा सो नमुना बस्ती निर्माण गरिएको थियो । मुक्तहलियाको आवश्यकताभन्दा जग्गाधनी र मालपोतका कर्मचारीको मिलेमतोमा अनकन्टार जङ्गल छेउमा बस्ती बसाइएको स्थानीयको आरोप छ । विद्यालय, स्वास्थ्य चौकीको सुविधाजस्ता आश्वासन देखाएर जङ्गल छेउमा जमिन खरिद गर्न प्रेरित गरिएको मुक्तहलिया खड्क विश्वकर्माले बताए। उनले भने, “मुक्तहलियालाई बाध्य बनाएर जमिन खरिद गर्न लगाइयो । जग्गा बिक्री भएपछि बस्ती निर्माणमा लापरबाही गरियो, बस्न लायक बनेन । अन्त्यमा मुक्तहलिया ठगिए ।”

नमुना बस्तीमा एक रात पनि बसेनन् मुक्त हलिया परिवार । नमुना बस्तीमा खानेपानी, विद्यालय, शौचालयलगायत पूर्वाधार लैजानुपर्ने सर्त भए पनि त्यो नहुँदा हलियाले बस्न नमानेका हुन् । हलियाले नमुना बस्तीमा बस्न नरुचाएपछि नमुना बस्ती बसालिएको बगलेक जङ्गल मुक्तहलिया लक्षित थियो कि? जग्गाको कारोबार लक्षित थियो? भन्ने प्रश्न अहिले उठ्ने गरेको छ । नमुना बस्तीमा लक्षित हलिया समुदाय किन बस्न मानेनन्? यसको जवाफ मालपोत कार्यालय र सहरी विकास तथा भवन कार्यालयले दिनुपर्ने माग स्थानीयको छ । सो स्थानमा बस्ती निर्माण र जग्गा खरिद बिक्री सम्बन्धमा लामो समय विवादसमेत भएको थियो । विवादबीच मालपोत कार्यालयका तत्कालीन प्रमुख सुनील सागर जोशीलाई कालो मोसोसमेत दलिएको थियो ।

मुक्तहलियाले इच्छाएको ठाउँमा जग्गा खरिद गर्न पाउने कार्यविधि भए पनि त्यसो नगरी हलियालाई प्रभावमा पारी मापदण्डविपरीत बस्ती राखिएको आरोप दलित अधिकारकर्मीको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्