Logo

एमालेसँग सरकार परिवर्तन जस्तो धन्दा गर्ने फुर्सद छैन्, निर्वाचनपछि ओली प्रधानमन्त्री बन्नुहुन्छ : विष्णु पौडेल (भिडिओसहित)



काठमाडौं, २८ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने घोषणा गरेका छन् । उनले निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आएपनि एमाले एक्लै लड्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले आफ्नो पार्टी अपवित्र गठबन्धनको पक्षमा नरहेको जिकिर गरे ।

उनले अहिलेको गठबन्धन स्वार्थ बोकेर हिँडेको र एमालेको विरोधमा लागेको आरोप लगाए । उनले आफूहरुले दक्षिण्पन्थीहरुसँग लागेकाहरुलाई वामपन्थी नभन्ने भन्दै प्रचण्ड र माधव नेपालसँग एकता नगर्ने स्पष्ट पारे । उनले एमालेसँग सरकार परिवर्तन गर्नेजस्तो धन्दा गर्ने फुर्सद नभएको जिकिर गरे ।

उनले आफूहरुले प्रचण्डलाई प्रधानमन्त्री बन्नको लागि कुनै प्रस्ताव नगरेको पनि दाबी गरे । उनले एमाले नदेखाईकन कसैको स्वार्थको रोटी पनि नसेकिने अवस्था रहेको जिकिर गरे । उनले एमालेलाई देखाएर गठबन्धनका नेताहरुले बार्गेनिङ गरेको आरोप लगाए । उनले आगामी निर्वाचनपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।

गठबन्धनका नेताहरुले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई धुलो चटाउँछु भनेपनि अहिले एमाले झनै बलियो भएर आएको पौडेलको भनाई छ । उनले स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा पनि एमाले मतको आधारमा पनि पहिलो दल बनेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्